साहित्यकार ढकालको बहुप्रतिक्षित उपन्यास ‘बुह्रान’को विमोचन

कोहलपुर : साहित्यकार महानन्द ढकालको आञ्चलिकता सिद्धान्तमा आधारित बहुप्रतिक्षित उपन्यास ‘बुह्रान’को भव्य समारोहमा विमोचन गरिएको छ ।
पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरले शनिबार यहाँ आयोजित कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव कथाकार सनत रेग्मीले उपन्यासको विमोचन गरेका हुन् । बुह्रानमा गरिव थारू तथा पहाडी समुदायको अन्तर सम्बन्ध तथा सहकार्यलाई उपन्यासको मुख्य विषयवस्तु बनाइएको छ ।

गास, बास र कपासका लागि थारूहरूको रोजाइमा परेको बुह्रानको कथा हिमालकी निङ्माले पहाडकी पार्वती र तराइका माइला थारूलाई प्रमुख पात्र बनाएर उधिनेकी छन । थारू संस्कार र संस्कृतिको अध्ययनलाई प्राथमिकतामा राखेर लेखिएको यो उपन्यासमा थारूहरूको जीवनचर्या र सामाजिक उपस्थितिको मूल्याङ्कन गरिएको छ ।
सोही कार्यक्रममा तुलसीराम स्मृति पुरस्कार यस बर्ष सहित्यकार डा. इन्द्र भण्डारीलाई प्रदान गरिएको छ । स्वर्गीय तुल्सीराम ढकालको स्मृतिमा स्थापना गरिएको अक्षयकोषबाट साहित्यकार भण्डारीलाई सम्मान गरिएको हो । पुरस्कारको रकम ७ हजार ७ सय सतहत्तर रुपैया रहेको छ । पुरस्कारको राशी र कदरपत्रसहित भण्डारीलाई कथाकार रेग्मी र अक्षयकोषका संरक्षक पवित्रा ढकालले संयुक्त रुपमा प्रदान गरेका हुन् ।