बझाङमा ८.६ म्याग्निच्युडको भूकम्प जाँदा पनि नेपालगन्जमा कम्तीमा ६८३ जनाको मृत्यु हुने खतरा

नेपाल रेडक्रस सोसाइटी बाँकेले नेपालगन्जमा भूकम्पीय जोखिमबारे आयोजना गरेको कार्यक्रम

नेपालगन्ज : सुदूरपश्चिम प्रदेशको बझाङमा ८.६ म्याग्निच्युडको भूकम्प जाँदा पनि नेपालगन्ज नगरमा कम्तीमा ६८३ जनाको मृत्यु हुने विज्ञले आँकलन गरेका छन् । विगत ६ दशकमा गएका ठूला र विनासकारी भूकम्पको क्षति विश्लेषण गर्दै विज्ञले यस्तो निष्कर्ष निकालेका हुन् ।
युरोपियन युनियनको आर्थिक सहयोग र युनिसेफ नेपालको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँकेले नेपालगन्ज उपमहानगरपालिकासँगको समन्वयमा सञ्चालन गरेको शहरी विपद् तथा भूकम्पीय पूर्वतयारी (सुपर परियोजना)ले आइतबार नेपालगन्जमा आयोजना गरेको नेपालगन्ज उपमहानगरपालिकाको परिदृश्य भूकम्पमा आधारित प्रभाव आँकलन विषयक कार्यक्रममा परियोजनाका परामर्शदाता भूूगर्वविद् डा.दीपक चौलागाईले यस्तो बताएका हुन् । उनले नेपालगन्जमा केन्द्रविन्दु भएर भूूकम्प नगए पनि माटोको जमिन भएकाले नेपालगन्जले धेरै मानवीय र भौतिक क्षति हुने बताए । उनले भने, ‘कार्यालय समयमा भूकम्प जाँदा नेपालगन्जमा ७२१ जनाको, रातिको समयमा यस्तो भूकम्प आउँदा एक हजार २६४ जना र सार्वजनिक विदाको दिनमा भूकम्प जाँदा ६८३ जनाको ज्यान जानसक्ने देखिन्छ ।’ कार्यालय समयमा तीन हजार जना घाइते हुने, रातिको समयमा भूकम्प आए पाँच हजार ५०० जना घाइते हुने उनको भनाइ थियो ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नगर भूकम्पको उच्च जोखिममा रहेकाले विपद् न्यूनिकरणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । कार्यक्रममा युनिसेफका परियोजनाका प्राविधिक अधिकृत नरेश निदान भूकम्पको उच्च जोखिममा रहेको नेपालगन्जका वडा नं. ३ र ७ का एक हजार एक सय घरहरुको भौतिक संकटासन्नता सर्भेक्षण सुरु गरेको जानकारी दिए ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोबद्र्धन सिंह सम्झनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपमहानगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक समीरप्रताप शाह र वातावरण शाखा प्रमुख इन्जिनियर प्रकाश डीसीले विपद् व्यवस्थापनका लागि भएका नीतिगत व्यवस्था र कार्यक्रमबारे जानकारी गराएका थिए । लामो समयदेखि पश्चिम नेपालमा विनासकारी भूकम्प नगएकाले गुल्मी, बझाङ, प्युठान, रोल्पा, बाग्लुङ, अछाम, बैतडी, दैलेख र कालिकोट जिल्ला उच्च भूकम्पीय जोखिममा रहेका छन् ।