राजनीतिक संरक्षणका जग्गा अतिक्रमकारीको जिम्मेवारी लिन सकिदैन : नगर प्रमुख आचार्य

कोहलपुर : कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यले नगरमा राजनीतिक दलको संरक्षणमा सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरुलाई कुनै पनि हालतमा जिम्मेवारी लिन नसकिने बताएका छन् ।
कोहलपुरमा सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीसमेत सहभागी भएको सर्वदलीय, सर्वपक्षीय बैठकमा बोल्दै नगर प्रमुख आचार्यले राजनीतिक दलको संरक्षणमा उत्तर, पश्चिम र पूर्वतर्फ जग्गा अतिक्रमण भएको बताए । उनले भने, ‘राजनीतिक नेतृत्वको आडमा, पार्टीको आडमा, जुन संरक्षण भइरहेको छ । यसको नैतिक जिम्मेवारी हामी लिन सक्दैनौं ।’ अन्तर्राष्ट्रिय क्रिकेट मैदान क्षेत्रमा पनि जग्गा अतिक्रमण भएको बताए । उनले स्थानीय प्रशासनले पनि साथ दिनुपर्ने बताए ।
नगर प्रमुख आचार्यको नेतृत्वमा अतिक्रमित संरचना हटाउन कोहलपुरको न्यूरोड क्षेत्रमा डोजरसहित पुगेको टोलीलाई सोमबार स्थानीयले अवरोध गरेका थिए । स्थानीयले भरपर्दो विकल्पको माग गर्दै अवरोध गरेपछि तनाव सिर्जना भएको थियो । कोहलपुरको न्यूरोडमा रहेको २/४ वटा टहरा भत्काएर बसपार्क पुगेको डोजरमाथि स्थानीयले ढुङ्गामुढा गरेपछि तनाव सिर्जना भएको थियो ।