नेपालगन्जको चार बाहिनीको रोड ‘वान वे’ बनाइँदै

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले गणेशमान चोकदेखि चारबाहिनीसम्मको सडकलाई वान वे बनाउने तयारी गरेको छ ।
उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टले आइतबार आफ्नो कार्यकक्षमा ट्राफिक प्रहरी, उद्योगी व्यवसायी र पत्रकारलगायतका सरोकारवालालाई डाकेर नगरमा वान वे बनाउने सडकबारे सम्भाव्यता अध्ययन गरिने बताए ।

उनले भने, ‘चार बाहिनीकोे रोडको विकल्पमा शितलनगरमा पनि अर्को सडक छ । यसलाई वान वे बनाउन सकिन्छ । त्रिभुवन चोकदेखि त्रिवेणी मोडसम्मको सडकलाई पनि वान वे बनाउन सकिनेछ ।’
नगर प्रमुख विष्टले काठमाडौंमा तीन तीन किलोमिटरसम्म वान वे सडक बनाइएकाले नेपालगन्जमा पनि वान वे बनाउन सकेमा ट्राफिक व्यवस्थापन गर्न सहज हुने बताए । कार्यक्रमका सहभागीहरुले घरबारी टोलबाट बागेश्वरी मन्दिर हुँदै त्रिवेणी मोडसम्म पुग्ने सडकलाई पनि वान वे बनाउनुपर्ने सुझाव दिएका थिए । नगरमा अतिक्रमण भएको फुटपाथ हटाउन आइतबार पनि नगर प्रमुख विष्ट, नेपालगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी, वडा प्रहरी, ट्राफिक प्रहरीसहित त्रिभुवन चोक क्षेत्रमा पुगेर हटाउन आग्रह गरेका थिए ।