नेपालगन्जका भन्सार एजेन्ट संगठित भएर काम गर्दै

नेपालगन्ज : नेपालगन्ज क्षेत्रमा कार्यरत भन्सार एजेन्टहरुले पहिलो पटक संगठित रुपमा काम सुरु गरेका छन् ।
नेपालगन्ज भन्सार एजेन्ट संघ गठन गरेर उनीहरुले सामूहिक कार्यको थालनी गरेका हुन् । भन्सार प्रशासनसँग सम्बन्धित निकासी, पैठारी व्यापार सहजीकरण कार्य गर्ने इजाजत प्राप्त व्यक्तिको रुपमा कार्यरत भन्सार एजेन्टहरुले गत २४ भदौमा दिनेशकुमार बानियाँको अध्यक्षतामा ९ सदस्यीय नेपालगन्ज भन्सार संघ गठन गरेका थिए । नेपालगन्जमा ३० जना भन्सार एजेन्ट तथा प्रतिनिधि कार्यरत छन् ।
संघ गठन भएको चार दिनपछि भन्सार एजेन्ट संघले सचिवालय भवनको उद्घाटन गरेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले कार्यालय उद्घाटन गरेका हुन् । कार्यक्रममा नेपालगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नरबहादुर थापा, भन्सार एजेन्ट महासंघका केन्द्रीय अध्यक्ष भरतराज घिमिरे, बरिष्ठ अध्यक्ष प्राचीनकुमार थैव र प्रथम उपाध्यक्ष काशीराज उपाध्याय, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीलगायको उपस्थिति रहेको थियो ।