क्यान्सर अस्पताल खजुरामा १० बजेभित्र हाजिर नभए गार्डले कार्यालय प्रवेश गर्न नदिने ! ६ डाक्टरसहित १५ स्वास्थ्यकर्मी गेटबाट फर्काइए

नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र कर्मचारीले १० बजेभित्र हाजिर नभए सुरक्षा गार्डले कार्यालय प्रवेश गर्न नदिने नियम बनाइएकोे छ १
अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले गत २७ भदौैको समिति बैठकबाट निर्णय गरी सूचना टाँस गरेर नै समयमै कार्यालय नआउने कर्मचारीलाई रोक्न गार्डलाई निर्देशन दिएको बताए ।‘हामीले बिहान १० बजेपछि गेटभित्र पस्न नपाउने निर्णय गरेका छौं । प्रत्येक डाक्टरलाई चेम्बरमा बोलाएर मेसु र मैले अगाडि बसेर तपाईहरु १० बजेपछि आउँदा हामी भित्र पस्न दिँदैनौं भनेका छौं’, अध्यक्ष मल्लले मोबाइल सम्पर्कमा भने, ‘विकास समितिले गरेको निर्णय र मेसुले दिएको निर्देशनलाई हाम्रो कर्मचारीले तोकेको समय अवधिभन्दा ढिला आयो भने हामीले गार्डलाई रोक्नुस् भन्दा खेरी उसले डाक्टरलाई रोक्नै नमिल्ने हो र ?’
यस विषयमा थप जानकारी चाहिएमा आफ्नो अन्तरवार्ता हेर्न र सामाजिक सञ्जाल र फेसबुक हेर्न पनि उनले सुझाव दिए । ‘मैले एनटिभीको इन्टरभ्युमा पनि भनेको छु । आजदेखि १० बजे नआए रोक लगाउने छौं ।’ गत २३ भदौमा अस्पताल विकास समितिमा पदबहाल गरेका अध्यक्ष मल्लले ५ दिनभित्रै यस्तो नियम बनाएर ‘अस्पताल सुधार’को थालनी गरेको दाबी गरे । अध्यक्ष मल्ल र अस्पतालका कार्यकारी निर्देशक डा.कृष्णप्रसाद आचार्यको निर्देशनमा मंगलबार बिहान सवा १० बजेतिर अस्पताल पुगेका ६ डाक्टरसहित झन्डै १२ जना स्वास्थ्यकर्मीलाई गार्डले गेटभित्र प्रवेश गर्न रोक लगाएका थिए । यसरी रोकिनेमा डा. प्रविण गुप्ता, डा.मुकेश यादव, डा.आशिष कोजु, डा.नम्रता भट्टराई, नर्सिङ इन्चार्ज रञ्जिता ढुङ्गाना, प्रमुख प्रशासकीय अधिकृतलगायत रहेको अध्यक्ष मल्लले जानकारी दिए ।
गेटबाट फर्काइएका डा. प्रविण गुप्ताले दुव्र्यवहारबाट दुःखी भएको बताए । उनले घटनाबारे भने, ‘म १० बजेर १५ मिनेटमा पुगें । पाँच ६ जना डाक्टरसहित १५ जनालाई अध्यक्ष टेकेन्द्र मल्ल र निर्देशक आचार्यले रोकेर नराम्रो दुव्र्यवहार गर्नुभयो । औंला देखाएर झर्केर तपाईहरु ढिलो आउनु भयो, जानुस् फर्केर भन्नुभयो ।’

अस्पतालका कार्यकारी निर्देशक डा.आचार्यले मंगलबार नै विज्ञप्ती निकालेर गार्डलाई रोक्न निर्देशन गरेको पुष्टि गरेका छन् । ‘समितिको बैठकको निर्णयको आधारमा अस्पतालको गेटमा कार्यरत सुरक्षागार्डलाई भएको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको हुँदा कार्यालय समयभित्र प्रवेश गरिसक्न सबैलाई जानकारी गराइन्छ’, उनले विज्ञप्तीमा भनेका छन् ।

नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को दफा ४७ ले स्वास्थ्य सेवाका कर्मचारीलाई सरकारी कामकाजको निमित्त निर्धारित कार्यालय समयमा नियमित रुपले आफ्नो कार्यालयमा हाजिर हुनुपर्ने भनेको छ । निर्धारित समयमा नआउने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखले गयल गर्नसक्ने नियमावलीमा व्यवस्था छ । महिनाको तीन पटकसम्म निर्धारित समयभन्दा १५ मिनेटसम्म ढिला गरी आउने कर्मचारीलाई कार्यालय प्रमुखले कैफियत जनाएर हाजिर दिनसक्ने पनि भनेको छ ।

नियमावलीले कतै पनि गार्ड लगाएर कार्यालय प्रवेशमा रोक लगाउने कुरा उल्लेख गरेको छैन । बरु नियमावलीको दफा ६२ ले विदा नलिइ आफ्नो कार्यालयमा अनुपस्थित हुने कर्मचारीलाई गयल र तलब कट्टी गरी विभागीय सजाय समेत गर्न सक्ने व्यवस्था गरेको छ ।