नेपालगन्ज उद्योग वाणिज्य संघद्वारा चर्को ब्याजबृद्धि रोक्न अर्थमन्त्री शर्मालाई ज्ञापन पत्र

अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापन पत्र बुझाउँदै नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी । फोटो : मेरो खुसी

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदर रोक्न संघीय सरकारका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरलाई ज्ञापन पत्र बुझाएको छ ।
अर्थमन्त्री शर्मालाई संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेतृत्वको टोलीले शनिबार नेपालगन्जमा ज्ञापन पत्र बुझाएका हुन् । प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाको उपस्थितिमा संघमा महासचिव चिरञ्जीवी ओली प्रवक्ता टंक धामी, बरिष्ठ सदस्य वसन्त लामिछाने, सदस्यद्वय टंकप्रसाद शर्मा र श्याम सुन्दर अधिकारीले अर्थमन्त्री प्रभाकरसँग भेट गरेका थिए । अर्थमन्त्री प्रभाकरले ब्याजदर पुनरावलोकनका सम्बन्धमा आइतबार छलफल गर्ने बताएका थिए । उनले भने, ‘मलाई धनगढीका साथीहरुले पनि व्याजदर बढेर व्यवसायी मारमा परे भनेका थिए । मैले तपाईहरुको समस्या बुझेको छु । यस विषयमा निकास दिन भोलि नै काठमाडौंमा बैठक डाकेको छु । पक्कै केही सकारात्मक कुरा हुनेछ ।’