राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान क्षेत्रीको राखेप सदस्य नियुक्ति : ‘राइट म्यान इन द राइट प्लेस’

नेपालगन्ज : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान लेखबहादुर क्षेत्री (एलबी क्षेत्री) राष्ट्रिय खेलकुद परिषद्को सदस्यमा नियुक्त भएका छन् ।
युवा तथा खेलकुद मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले गत ११ असोजको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार क्षेत्रीलाई राखेप सदस्य नियुक्त गरेको पत्र दिएका हुन् । नेपाली राष्ट्रिय क्रिकेट टिमको पहिलो वर्ष नै उप-कप्तान रहेका क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा कप्तानी सम्हालेका थिए । उनी नेपाली महिला क्रिकेट टीमका परिकल्पनाकार पनि हुन् । उनकै अथक मेहनतका कारण नेपालमा महिला क्रिकेटको सुरुवात भएको थियो । बाँकेको कोहलपुर नगरपालिका-१० का स्थायी वासिन्दा क्षेत्री अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले नेपाली क्रिकेटको विवाद समाधानका लागि बनाएको स्वतन्त्र समूहमा नेपाल सरकारको तर्फबाट सदस्य भएर काम गरेका थिए । उनी क्यानका पूर्वकेन्द्रीय सदस्य पनि हुन् । नेपाली क्रिकेटमा सुरुवाती चरणदेखि नै योगदान दिएका क्षेत्री लामो समय क्यान र राज्यको बेवास्ताको शिकार भएका थिए । चाकडी, चाप्लुसीभन्दा आफ्नो योग्यता र क्षमताको बलमा टिकेका क्षेत्रीलाई राखेप सदस्यमा गरेको नियुक्तिलाई अहिले ‘राइट म्यान इन द राइट प्लेस’ नियुक्त गरेको भनेर जिल्लामा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’को पनि प्रशंशा भएको छ ।