निःशुल्क स्वास्थ्य शिविरबाट ५२१ लाभान्वित

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका १७ परसपुरमा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
ग्रामीण आर्थिक सामाजिक उत्थान केन्द्र बाँकेले शनिबार परसपुरको रामगोपाल इ मि. स्कुल परिसरमा सञ्चालन गरेको शिविरबाट ५२१ जना लाभान्वित भएको आयोजक संस्थाकी अध्यक्ष लता शर्माले जानकारी दिइन् । शिविरमा २१५ जनाको आँखा परीक्षण र जनरल स्वास्थ्यतर्फ ३०६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

शिविरमा नेपालगन्ज मेडिकल कलेजका डा. मोहम्मद आजाम, डा. हर्षिद् पाठक र नेत्ररोग विशेषज्ञ जीतेन्द्रकुमार वर्माले स्वास्थ्य परीक्षण गरेका थिए । आँखा परीक्षण गर्नेलाई औषधि समेत निःशुल्क वितरण गरिएको थियो । राम गोपाल इ.मि. स्कुलका संस्थापक रामगोपाल वर्माको आँखा परीक्षण गरी शिविरको शुभारम्भ गरिएको थियो ।