अन्तर्राष्ट्रिय लेखा दिवसका अवसरमा नेपालगन्जमा प्रभात फेरी

नेपालगन्ज : अन्तर्राष्ट्रिय लेखा दिवसका अवसरमा नेपालगन्जमा प्रभात फेरी एवं अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था, नेपालगन्ज शाखाद्वारा आयोजित प्रभात फेरी संस्थाको शाखा कार्यालय श्रृष्टि हल रोडबाट सुरु भइ त्रिभुवन चोक, चारवाहीनी चोक, गणेशमान चोक, वीपी चोक हुँदै पुनः कार्यालयमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभा सन्चालन गर्दै नेपाल चाटई एकाउन्टेन्ट्स संस्था, नेपालगन्जका प्रमुख देवराज अधिकारीले अन्तर्राष्ट्रिय लेखा दिवस भव्यताका साथ मनाइ लेखा प्रणालीको महत्वको सम्बन्धमा आमजनमानसमा जनचेतना जगाउने उद्देश्यले कार्यक्रम सन्चालन गरिएको बताए ।

कार्यक्रममा संस्थाका पूर्वपार्षद् आर.ए अब्दुल करिम खान, नेपालगन्ज शाखा समन्वय समितिका संयोजक सीए विश्वराम भण्डारी, एक्यान बाँकेका अध्यक्ष सीए प्रविन सरावगी तथा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरन्जीवी वलीले अन्तर्राष्ट्रिय लेखा दिवसको महत्व तथा लेखा प्रणालीले व्यापार, व्यवसायको वित्त प्रणालीमा पार्ने प्रभावको विषयमा चर्चा गरेका थिए ।
नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था, नेपालगन्ज शाखा समन्वय समितिका संयोजक सीए विश्वराम भण्डारीले कार्यक्रम समापन गर्दै हरेक सफल व्यवसायको लागि एक महिना लेखापालको आवश्यकता र लेखापालन नै हरेक सफल व्यवसायको भाषा भएको बताए । कार्यक्रममा संस्थाका सदस्यहरु, कर्मचारी, सीए तथा लेखा विषयमा अध्ययनरत विभिन्न कलेजका विद्यार्थीहरु र सरोकारवालासहित करिब १५० जनाको सहभागिता रहेको थियो ।