जसपा उम्मेदवार खड्का र पाठकको सहकारी पीडितले किन उम्मेदवारी खारेजी मागे ?

नेपालगन्ज : सहकारी पीडितले प्रदेशसभा सदस्यका उम्मेदवार अम्बरबहादुर खड्का र विजयकुमार पाठकविरुद्ध चर्को नाराबाजी गरे । निर्वाचन कार्यालयमा पीडित महिलाको रुवाबासी पनि भयो ।

सहकारी वित्तिय विकास संस्था लिमिटेड नेपालगन्जको ४३ करोड रुपैयाँ अपचलनको ठगी र संगठित अपराध सम्बन्धी मुद्दा बाँके जिल्ला अदालतमा विचाराधीन अवस्थामा रहेका खड्का बाँके क्षेत्र नं. १ (१) र पाठक बाँके क्षेत्र नं. ३ (२)बाट जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेपछि सहकारी पीडित संघर्ष समितिका सह–संयोजक आशुतोष शुक्लाको नेतृत्वमा गएका पीडितले बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला निर्वाचन कार्यालय पुगेका पीडितले नाराबाजी गर्दै उनीहरुको उम्मेदवारी खारेजीको माग गर्दै ज्ञापन पत्र पनि बुझाए । थुनुवाको रुपमा बाँके कारागारमा केही महिना बिताएर खड्का र पाठक दुबै जनही २५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका व्यक्ति हुन् ।
बाँके क्षेत्र नं. २ का सहायक निर्वाचन अधिकृत नुमानन्द अधिकारीले ज्ञापन पत्र बुझ्दै यस विषयमा अनुसन्धान गर्ने बताए । उनले कारबाहीका लागि निर्वाचन आयोगमा नै पत्राचार गर्न सुझाव दिएका थिए । त्यसपछि मुर्दावादको नारा लगाउँदै पीडितहरु जिल्ला निर्वाचन कार्यालयमा पुगेर पनि ज्ञापन पत्र बुझाएको संघर्ष समितिका सह–संयोजक शुक्लाले जानकारी दिए ।


सहकारी वित्तिय विकास संस्था लिमिटेड नेपालगन्जको ४३ करोड २ लाख ५३ हजार ९५ रुपैयाँ हिनामिना गरेको अभियोगमा बाँके जिल्ला अदालतमा खड्का र पाठकसहित ४१ जनाविरुद्ध जिल्ला अदालत बाँकेमा ठगी तथा संगठित अपराधको मुद्दा विचाराधीन रहेको छ । प्रकरणमा ४३ करोड माग दाबी सहित ४१ माथि मुद्दा दायर गरिएको छ । सहकारी पीडितले पहिलो चरणमा एक हजार ९ र दोस्रो चरणमा ५१७ सहकारी पीडितले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् । सहकारीका ११ हजार ४०८ बचत र लगानीकर्ताहरु पीडित छन् ।