गाउँपालिका अध्यक्ष हारेका भण्डारीलाल प्रदेश सभा सदस्यको दौडमा

रमेशकुमार यादव । डुडुवा
जनता समाजवादी पार्टी नेपाल (जसपा)बाट बाँके क्षेत्र नं. २ (१) का उम्मेदवार भण्डारीलाल अहिर (यादव) घरदैलोमा व्यस्त छन् । यादवले कृषि प्रधान देशमा विकासको आधार पनि कृषि नै भएको भन्दै मत मागिरहेका छन् । मतदाताको घरदैलोमा रहेका यादवले मेरो खुसीसँग भने, ‘रोजगारी बृद्धि गर्न र आफ्नो स्वाभिमान बचाउन युवालाई कृषिमा सहभागिता जरुरी छ। किसानको आवाज बुलन्द भएपछि अन्य क्षेत्रको विकास हुन्छ । कृषि क्षेत्र सबल भए शिक्षा र स्वास्थ्यलाई पनि सबल बनाउन सकिन्छ ।’ उनले निर्वाहमुखी र परम्परागत रुपमा रहेको कृषि क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोगबाट व्यवसायिककरण गर्नुपर्नेमा जोड दिए ।
स्थानीय तह निर्वाचन २०७९ मा यादव जसपाबाट डुडुवा गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार थिए । उनले नेपाली कांग्रेसका नरेन्द्र चौधरीसँग एक हजार १४७ मतले पराजित भएका थिए । चौधरीले ६ हजार २७२ र यादवले ५ हजार १२५ मत ल्याएका थिए । गाउँपालिकामा हारेको बदला यादव प्रदेश सभा सदस्य निर्वाचित भएर देखाउन लागेका छन् ।