एचसीआरसी अस्पतालमा लेजर प्रविधिबाट सौन्दर्य केयर सेवा

नेपालगन्ज : एचसीआरसी अस्पताल नेपालगन्जले पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक लेजर प्रविधिबाट सौन्दर्य केयर सेवा सुरु गरेको छ ।
बाँके क्षेत्र नं. २ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. धवल शम्शेर राणाले शुक्रबार सौन्दर्य केयर सेवाको शुभारम्भ गरेका हुन् । अल्मा लेजर नेपालका कार्यकारी प्रमुख रामशरण मल्लले सोप्रानो आइसिइ प्लाटिनम लेजर उपकरण अस्पतालका संस्थापकद्वय डा. कुमार शान शाह र डा. मञ्जु बिसी शाहलाई हस्तान्तरण गरेका थिए ।

अस्पतालका प्रमुख डा. शाहले सुरुमा स्त्रीरोग सेवा दिने उद्देश्यले अस्पतालको निर्माण सुरु गरिएको भए पनि अहिले अन्तर्राष्ट्रिय मापदण्डको सेवा दिने गरी काम गरिरहेको बताए । उनले भने, ‘हामी स्वास्थ्य सेवामा संसारभर आएका नयाँ नयाँ प्रविधिबाट सेवा दिने लक्ष्यका साथ काम गरिरहेका छौं । क्याथ ल्याब सहितको अत्याधुनिक सेवा दिने गरी अस्पतालको तयारी छ ।’
सौन्दर्य केयर सेवाबारे उनले मान्छे बुढो भए पनि मन बुढो हुँदैन भन्ने नेपाली कथन भए पनि स्वास्थ्य क्षेत्रको अत्याधुनिक प्रविधिको प्रयोग गरेर मान्छे कुनै पनि रुपमा बुढो हुनु भएन भन्ने गरी आफूले काम गर्ने बताउँछन् । उनले भने, ‘संसारमा आएका प्रविधिबाट बुढापा देखिनबाट रोकिन्छ । जुन सेवा हामीले सुरु गरेका छौं ।’
कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा.धवल शम्शेर राणाले विगतमा आँखाको उपचारका लागि भारतको सीतापुर जाने गरेको स्मरण गर्दै अहिले धेरै भारतीय फत्तेबाल आँखा अस्पतालमा आउने गरेको बताए । उनले नेपालगन्जमा एचसीआरसी अस्पतालले अत्याधुुुनिक सेवा दिए लखिमपुर, बहराइच, लखनउ, गोरखपुर क्षेत्रका भारतीयलाई आकर्षित गर्न सकिने बताए ।

उनले जोड दिए, ‘राज्यले मेडिकल टुरिजमको रुपमा विकास गर्न सके स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा मिल्छ । धेरैले रोजगारी पाउँछन् । त्यसका लागि सरकारले उच्च स्तरीय सेवा दिने अस्पताललाई राहात दिनुपर्छ ।’

सो अवसरमा अल्मा लेजर नेपालका कार्यकारी प्रमुख रामशरण मल्लले सोप्रानो आइसिइ प्लाटिनम लेजर उपकरणबारे जानकारी गराएका थिए । उनले यो प्रविधि विश्वका १२१ देशमा पुगेको बताए । राजधानीका ठूला भनिएका अस्पतालमा यस्तो सेवा सुरु गरिएको भए पनि पश्चिम नेपालमा भने यस्तो सेवा पहिलो पटक सुरु भएकोमा खुसी ब्यक्त गरे ।
लेजर प्रविधिबाट शरीरमा रहेको अनावश्यक रौं सधैका लागि हटाउने, बोटक्स, फिलर्स तथा फेस लिफ्टिङ प्रबिधिद्धारा झोलिएको छाला र चाउरीपन हटाउने, लेजरद्वारा योनीलाई कसिलो तथा टाइट बनाउने, महिलाहरुको पिसाव चुहिने समस्याको उपचार, दुरविन प्रबिधिद्वारा पाठेघरको जाँच, पाठेघरको मुख सेकाई गरिने अस्पतालले जनाएको छ । शरिरमा रहेको ट्याटु हटाउने, छालामा भएका खाल्टा खुल्टी मिलाउने, मुसा, कोठी, मासु पलाएको हटाउने, कपाल उमार्ने उपचार, बायोप्सीबाट छालामा देखापर्ने रोग पत्ता लगाउने, छाला यौन तथा कुष्ठरोग उपचार, हाइडा फेसियल, कार्वन फेसियल, भ्याम्पायर फेसियल सेवा प्रदान गरिने अस्पतालका ब्यवस्थापक रमेश सिटौलाले जानकारी दिए । नेपालगन्ज १० चार बाहिनी रोडमा फाइभ स्टार होटल जस्तो देखिने संरचनामा सुरु भएको एचसीआरसी अस्पतालको औपचारिक शुभारम्भ नभए पनि विशेषज्ञ सेवा दिइरहेको अस्पतालले जनाएको छ ।