देवबहादुर र रुपा मेयर कप साइकल दौडमा प्रथम

नेपालगन्ज : ४औं* मेयर कप साइकल दौड प्रतियोगितामा देवबहादुर बोहरा र रुपा थारु प्रथम भएका छन् ।
नेपालगन्ज साइक्लिङ क्लबको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा शनिबार नेपालगन्जमा आयोजन गरिएको मेयर कप साइकल दौड प्रतियोगितामा ३५ किलोमिटर एमटिभी पुरुषमा बोहरा प्रथम, जङ्गु थारु दोस्रो र शिवप्रसाद थारुले तेस्रो स्थान प्राप्त गरेका छन् ।

त्यसैगरी महिलातर्फ एमटिभी २५ किलोमिटर साइकल दौड प्रतियोगिताको उपाधि रुपा थारु प्रथम, सीता सार्की दोस्रो र पार्वती सार्की तेस्रो भए । त्यसैगरी ४० वर्षमाथिको २५ किलोमिटर एमटिभी मास्टर समूहमा प्रतिस्पर्धा गर्दै दीपक मल्ल प्रथम, बाबुराम विश्वकर्मा दोस्रो र किरणप्रसाद श्रेष्ठ तेस्रो भएका छन् ।

साधारण साइकल पुरुषतर्फको उपाधिमा रमेशकुमार थारु प्रथम, लिखनप्रसाद थारु दोस्रो र जुगलाल थारुले तेस्रो स्थान प्राप्त गरे भने साधारण साइकल महिला तर्फको उपाधि जित्दै इन्दिरा थारु प्रथम, मीनाकुमारी थारु दोस्रो र कल्पना सार्की तेस्र्रो भइन् । नेपालगन्जका मेयर प्रशान्त बिष्टले प्रतियोगितामा विजेतालाई नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगितामा सबै विधामा गरि ६७ जना महिला र पुरुषले सहभागिता जनाएकोे नेपालगन्ज साइक्लिङ क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।

आयोजक नै झुक्किए, झुक्काए
सन् २०१७ बाट प्रत्येक वर्ष आयोजना गरिँदै आएको साइकल दौड प्रतियोगिता, सन् २०१८, सन् २०२१ र यो वर्ष आयोजना भएको हो । गरी सन् २०१९ र २०२० मा कोरोना महामारीका कारण रोकिएको क्लबका पूर्वअध्यक्ष गगनसिंह थापा बताउँछन् । आयोजकले व्यानरमै पाँचौं मेयर कप साइकल दौड प्रतियोगिता लेखेर झुक्किए । खेलाडी र खेलप्रेमीलाई झुक्काए । * सच्चाइएको