पत्रकार महासंघ बाँकेद्वारा एम्बुलेन्स किन्ने १२ लाख ८८ हजार रुपैयाँबाट पत्रकार स्वास्थ्य कोष स्थापना

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाले १२ लाख ८८ हजार रुपैयाँको पत्रकार स्वास्थ्य कोष स्थापना गरेको छ ।
मंगलबार नेपालगन्जमा बसेको महासंघ बाँके शाखाको बैठकले एम्बुलेन्स खरिद गर्नका लागि दाताबाट संकलन गरेको रकमलाई स्वास्थ्य कोषमा रुपान्तरण गरेको हो ।
महासंघका सचिव कमल डाँगीले बुधबार विज्ञप्ती जारी गरी सरकारको नयाँ कार्यविधिका कारण एम्बुलेन्स खरिद गर्न सम्भव नभएको र विभिन्न निकायसँग समन्वय गरेर एम्बुलेन्स सञ्चालन गर्ने अधिकतम् प्रयास सफल नभएकाले महासंघका पूर्व अध्यक्ष, सल्लाहकार, पत्रकार सम्बद्ध आस्थागत संगठनका अध्यक्षसहितको सर्वपक्षीय बैठकको सुझावको आधारमा कोष स्थापना गरिएको उल्लेख छ । कोषको रकमबाट कसरी पत्रकारलाई स्वास्थ्य उपचारमा सघाउने भन्नेबारेमा कार्य विधि बनाउन महासंघले उपसमिति बनाएको छ । बैठकले आगामी २९ मंसिरमा महासंघको १३औं साधारणसभा गर्ने निर्णय पनि गरेको छ । महासंघका सदस्यलाई आगामी १५–२५ मंसिरसम्म सदस्यता नविकरण गर्न पनि आग्रह गरिएको छ ।