नेपालगन्जको सोफिया स्कुलमा किन रोए अभिभावक ?

नेपालगन्ज : एक जना गरिब बाबुले छोरालाई महंगो विद्यालयमा भर्ना गर्छन् । उनको कमाइले छोरोको शुल्क तिर्न पुग्दैन । एउटा कार्यालयको काम सकेपछि बाबु पिजा हाउसमा पनि काम गर्छन् । छोराको संगत धनी केटासँग हुन्छ । उसमा बाबुले दुःख गरेर कमाएको पैसा क्षण भएरमा उडाउने बानी परिसकेको हुन्छ । एक दिन उसले विद्यालयको शुल्क तिर्ने भनेर बाबुसँग पैसा माग्छ । बाबुले ऋण काढेर पैसा पठाउँछन् । ऋणमा ल्याएको पैसा बोकेर छोरा पिजा खान जान्छ । अर्डर गर्छ । होटलभित्रबाट उसका सहोदर बाबु छोराले अर्डर गरेको पिजा बोकेर आउँछन् । छोराले बाबुलाई चिन्छ । ड्याडी बनेर बोलाउँछ । बाबुलाई आफ्नै छोराले बोलाएको पत्यार लाग्दैन । ग्राहकको रुपमा सर भनेर नै सम्बोधन गर्छन् । उनी सन्तानको सुख र खुसीको लागि जस्तोसुकै त्याग गर्न तयार रहेको बताउँछन् ।

यो हृदय विदारक दृश्य बिहीबार नेपालगन्जको सोफिया रेजिडेन्सियल इङ्लिस स्कूलको १६औं वार्षिकोत्सव तथा ख्रीष्टमस विशेष कार्यक्रममा अभिभावककोे त्याग शीर्षकको नाटकको हो । सन्तानको सुन्दर भविष्यको लागि भन्दै अभिभावकले कसरी त्याग गरिरहेका छन् र सन्तान कसरी बरालिरहेका छन् ? लक्ष्यहीन भएका छन् भन्ने सन्देशको नाटक हेरेर अभिभावकको रुवाबासी नै चल्यो । कतिका आँखा रसाए । धेरै जना भावुक बने । अधिकांशलाई भावविह्ल बनायो । थाहा छैन, यो नाटक कतिको जीवनसँग मेल खायो वा खाएन तर सबैलाई आफूले सन्तानमाथि गरेको लगानीबारे सोच्न बाध्य बनायो ।

कार्यक्रममा बालबालिकामा मोबाइल फोनको कुलत कसरी बसिरहेको छ भन्ने अर्को नाटकले पनि अभिभावकलाई चिन्तित बनायो । नाटकमा स्मार्ट फोनले कसरी बालबालिकालाई बिगारिरहेको छ ? साना बालबालिका कसरी स्मार्ट फोनप्रति आकर्षित भइरहेका छन् ? खाना खाँदा पनि स्मार्ट फोन नै कसरी प्रयोग गर्छन् ? स्मार्ट फोन प्रयोगकर्तामा सामाजिकता र मानवीय संवेदना कसरी हराएको छ ? बिरामीलाई उपचार गर्न लैजान छोडेर लाइक र भ्युजका लागि सेल्फी फोटो खिच्छन् ? घरभित्रै बसेर एकल काँटे भइरहेका छन् भन्ने कुरा देखाइएको थियो । स्मार्ट फोन नबोक्नेहरुले खेलकुदमा सहभागिता जनाउने, अरुलाई समस्या पर्दा सघाउने जस्ता तुलनात्मक कुरा देखाइएको थियो । विद्यार्थीले जिवन्त अभिनय गरेका थिए ।

विद्यार्थीको अर्को रोचक प्रस्तुती थियो, थारु समुदायको लोपोन्मुख लठ्ठी नाच । थारु कला संस्कृति झल्कने मेला महोत्सवमा मात्र अहिले सिमित भइरहेको यो नाच विद्यार्थीले निकै राम्रोसँग प्रस्तुत गरे । थारु पोशाकमा हातमा लड्डी र ढाडमा मयुरको प्वाख बोकेर आएका छात्रछात्राको नृत्यले अभिभावकको मन छोएको थियो । विद्यार्थीहरुले विभिन्न सांस्कृतिक पहिचान, विविधता झल्किने खालका पोशाकमा सजिएर नृत्य, गीत, नाटक, कविता लगायतका तीन दर्जन बढी प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालकदेखि स्वयंसेवकसम्म सबै विद्यार्थी नै थिए । विद्यालयकी शिक्षिका प्रतिमा बस्यालले कार्यक्रम सञ्चालनमा विद्यार्थीलाई सहजीकरण गरेकी थिइन् । स्कुलका संस्थापक प्रिन्सिपल केबी बसेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर उप प्रमुख कमरुद्दिन राईले विद्यालयको कार्य हेरेर खुसी लागेको बताए ।

उपमहानगरपालिकाका शिक्षा महाशाखाका अधिकृत भीमबहादुर बुढाले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभालाई सिर्जना गर्नमा विद्यालयले महत्वपूर्ण भूमिका खेलेको भन्दै भन्ने शुभकामना दिएका थिए ।
विद्यालयकी प्रिन्सिपल सुशीला बसेलले २० वर्ष अघि थोरै लगानीमा नेपालगन्जमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन सकियोस् भनेर सन् २००४ बाट विद्यालयमा सुरु भएको प्रयास अहिले सफल हुदै गएको बताए । सो अवसरमा वर्ष उत्कृष्ट विद्यार्थी, विभिन्न प्रतिभा लगायतका विधामा सफल हुने विद्यार्थीलाई ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । सोफिया विद्यालयमा माध्यमिक तहसम्मको पढाइ हुन्छ ।