नेपालगन्जका घरको बिमा गरिँदै !

  नेपालगन्ज : नेपालगन्जका घरहरुको बिमा गर्ने तयारी भइरहेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको आयोजना, युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडीपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको प्राविधिक सहयोगमा सञ्चालित सहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर प्रोजेक्ट)ले नेपालगन्ज उपमहानगरपालिकाभित्रका घर तथा संरचनाहरुको बिमा गर्ने विषयमा आइतबार निर्जीवन बिमा कम्पनीका प्रतिनिधिहरुसँग छलफल गरिएको हो ।

छलफलमा निर्जीवन बिमा कम्पनीका प्रमुख एवं प्रतिनिधिहरुले निश्चित मापदण्ड, कार्यविधि र संयन्त्र बनाएर अगाडि बढ्न सकिने बताए । उनीहरुले भत्किन लागेका घर वा संरचनाहरु विमाको दायरामा नआउने स्पष्ट पार्दै कुनै बाह्य शक्ति विपतले निम्त्याएको क्षतिमा भने राहत पाउने गरी बिमा हुने बताएको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।


उनीहरुले अधिकांश ठूला घर र संरचनाहरुको विमा भइसकेको जानकारी गराउँदै गरिब विपन्न तथा कम लगानीमा बनेका घरहरुलाई समेट्ने गरी कार्यविधि र कार्ययोजना बनाउनुपर्ने सुझाब दिए । बिमा कम्पनी र नेपालगन्ज उपमहानगरपालिकाका बीचमा पब्लिकप्राइभेट मोडलु मा सहकार्य गर्न सकिने बताए ।