नेपाल प्रहरीको आवासीय तालिम दिएर कोहलपुरमा नगर प्रहरी भर्ना

नेपालगन्ज : नेपाल प्रहरीको आवासीय तालिम दिएर कोहलपुर नगरपालिकाले नगर प्रहरी भर्ना गरेको छ ।

नगर प्रहरीको परीक्षा, भर्ना र तालिम नेपालगन्जस्थित कर्णाली प्रदेश प्रहरी तालिमले दिएको हो । तालिमका संयोजक प्रहरी निरीक्षक यामबहादुर मल्लका अनुसार नगर प्रहरीलाई आधारभूत तालिम दिएको बताए । ४५ दिनको तालिममा २५ दिन प्रहरीको तालिम केन्द्रमा आवासीय तालिम दिइएको थियोे । जसमा प्राथमिक कवच, लठ्ठी तालिम, सलाम गर्न सिकाउने, परेड खेल्न सिकाउने, पिटी सिकाइएको थियो । २० लिन भने कोहलपुर नगर क्षेत्र परिसरमा फिल्ड एट्याचमेन्ट (व्यवहारिक ज्ञान) दिइएको थियो ।

नगर प्रहरी जवान आधारभूत तालिम पहिलो समूहको दीक्षान्त समारोह आइतबार सम्पन्न भएको थियो । नेपालगन्ज कारकाँदोस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आथित्यतामा दीक्षान्त समारोह सम्पन्न भएको हो । नगर प्रमुख आचार्यले लगनशील, कर्मठ र योग्य कर्मचारीको रुपमा आफूलाई स्थापित हुनेगरी आफ्नो भूमिका उत्कृष्ट बनाउन दीक्षित भइ जाने प्रशिक्षार्थी प्रहरी जवानलाई निर्देशन दिए ।

१२ पुरुष र ७ महिला गरी १९ जना प्रहरी जवानलाई रहेको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले जानकारी दिए । कोहलपुर नगरपालिकामा थापाको कमाण्डमा दुई जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी हवल्दार र १९ प्रहरी जवान गरी २४ जनाको टोली छ । उनीहरु सबैलाई तहगत अनुसार नै नेपाल प्रहरीले पाउने तलब, भत्ता र राशन सेवा सुविधा उपलब्ध गराइएको नगर प्रहरी इन्चार्ज प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।

कोहलपुरमा नगर प्रहरीको छुट्टै ब्यारेक नै छ । उनीले २४ घण्टा नै ड्युटी गर्न ब्यारेकमा नै बस्ने व्यवस्था गरिएको छ । ‘२४ घण्टा नै सेवा दिने उद्देश्यले नगर प्रहरीको नियुक्ति गरिएको छ । मोबाइल गस्ती, साइकल गस्ती, मोटरसाइकलबाट गस्ती नगर प्रहरीले गरिरहेका छन्’, प्रमुख थापाले भने, ‘खबर गरेको दुई मिनेटमा प्रहरी पुग्ने गरी परिचालनको व्यवस्था गरेका छौं ।’