यो जित कसको ? मेसीको !

मेसीले अजेन्टिनालाई विश्व कप जिताए, फाइनलमा ह्याट्रिकको रेकर्ड बनाएर एम्बाप्पेले खेलप्रेमीको मन जिते

नेपालगन्ज : अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ ।
लिओनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले कतारमा आइतबार राति सम्पन्न फाइनल खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै २२औं विश्वकपको उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो ।
खेलको पहिलो हाफमा अर्जेन्टिनाको लागि कप्तान मेसीले २३औं मिनेटमा पेनाल्टीबाट पहिलो गोल गर्दै जितको खाता खोलेका थिए । ३६औं मिनेटमा एन्जल डी.मारियाले पनि गोल गरेपछि पहिलो हाफमा अर्जेन्टिना डिफेन्डिङ च्याम्पियन फ्रान्स भन्दा दोब्बर अग्रता लिएको थियो । खेलको ८० मिनेटमा फ्रान्सका स्टाइकर केलियन एम्बाप्पेले पेनाल्टीबाट पहिलो गोल फर्काएका थिए । त्यसको ९७ सेकेन्डभित्र कोलो मुआनीसँग पेनाल्टी क्षेत्र बाहिर पास साट्दै एमबाप्पेले सुन्दर गोल गरे र खेललाई बराबरीमा रोकेका थिए । खेल अतिरिक्त समयको १०९ औं मिनेटमा मेसीले अर्जेन्टिनालाई पुनः अग्रता दिलाए । अतिरिक्त समयको ३ मिनेट बाँकी रहँदा एम्बाप्पेले पेनाल्टीमा तेस्रो गोल फर्काउँदै फाइनलमा ह्याट्रिकको रेकर्ड बनाउँदै फेरि पनि फ्रान्सलाई बराबरीमा ल्याएका थिए । त्यसपछि भने खेल टाइब्रेकरमा पुगेको थियो । अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे । फ्रान्सका केलियन एम्बाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे । किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न चुकेका थिए ।
अर्जेन्टिनाका कप्तान मेसीले फिफा विश्वकप २०२२ को उत्कृष्ट खेलाडी बन्दै गोल्डेन बल अवार्ड जितेका छन् । मेसी दुई फरक विश्व कपमा गोल्डेन बल जित्ने पहिलो खेलाडी बनेका छन् । प्रतियोगिता भर सर्वाधिक ७ गोल गरेर गोल्डेन बुट भने एम्बाप्पेले जितेका छन् । अर्जेन्टिनाका गोलकिपर एमिलियानो मार्टिनेजले उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभ्स अवार्ड जिते । पत्रकार तुला अधिकारीले ‘खासमा मेस्सी र एम्बाप्पे दुबैले जिते’ भनेर स्टाटस लेखेका छन् । अकोराब अध्यक्ष अर्जुन गिरीले फेसबुकमा ‘जित दुवैको हो । एउटाले खेल जित्यो, अर्कोले मन भन्दै मेसी र एम्बाप्पेलाई बधाइ दिएका छन् । भेरी अस्पताल नेपालगन्जमा प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले फेसबुकमा स्टाटस लेखे, ‘अर्जेन्टिनाको टिमले विश्वकम २०२२ जित्यो । फ्रान्सको एम्बाप्पलेले मन जिते ।’रेडक्रसकर्मी रुपन ज्ञवालीले फाइनल खेल हेरेपछि फेसबुकमा लेखेका छन्, ‘आजको खेल मेस्सीमा समर्पित ।’ पर्यटनकर्मी केशव न्यौपाने बधाइ दिँदै लेख्छन्, ‘सुनौला अक्षरले लेखिनेछ अब महान मेसी ।’ विश्वभरका प्रशंसकले भनिरहेका छन्, ‘हिप हिप हुर्रे । यो जित कसको ? मेसीको ।’