सपथ नखाँदै सांसद नमूनाले मागिन् अर्थ र सहरी विकास मन्त्रालयसँग विकास योजनामा बजेट

नेपालगन्ज : लुम्बिनी प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाले बाँकेको विकास योजनाका लागि संघीय सरकारसँग बजेट माग गरेकी छन् ।
प्रदेशसभा सदस्यको सपथ नखाँदै संघीय राजधानी काठमाडौं पुगेकी सांसद नमूनाले सोमबार अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकर र सहरी विकास मन्त्री मेटमणि चौधरीलाई भेटेर बाँके क्षेत्र नं. १ (१) का राप्तीसोनारी र नरैनापुर गाउँपालिकाको विकासको लागि विभिन्न योजना पेश गर्दै बजेट माग गरेकी हुन् ।
उनले सो क्षेत्रामा चार स्थानमा पक्की पुल, दुई स्थानमा झोलुङ्गे पुल, चार स्थानमा एकीकृत बस्ती विकास, दुई वटा विद्यालयको भवन निर्माण, तीन हजार फुसका छाना हटाउनको लागि बजेट, १६ किलोमिटर पक्की नाली निर्र्माण लगायतका योजनाहरु पेश गरेको बताइन् । ‘मैले राप्तीसोनारी र नरैनापुरका लागि १७ बुँदामा योजनाहरु राखेर दुबै मन्त्रालय तथा अन्य केही विभागहरुमा पेश गरेकी छु । मन्त्री ज्यूहरुसँग समेत यहाँको विकास निर्माणको बारेमा छलफल समेत भयो’ काठमाडौंमा रहेकी सांसद नमूनाले टेलिफोन सम्पर्कमा भनिन्, ‘योजनाहरुको बारेमा मन्त्रीहरु सकारात्मक हुनु भएको छ । केही योजनाहरुमा बजेट केही दिनमै अर्थ मन्त्रालयबाट सुनिश्चित हुनेछ ।’
बाँसखुली हुँदै दाङको भौवानाका जोड्ने सडकको लागि राप्ती नदीमा, नरैनापुरको दोन्द्रानालामा, कचनापुरको साइरन टावर नालामा र बेलबासदेखि राजपुर जोड्नको लागि परुवा खोलामा पक्की पुल निर्माणको लागि योजना र बजेटको लागि सांसद नमूनाले पहल थालेकी हुन् ।
फुसको छानो हटाउनसुरक्षित आवास कार्यक्रम अन्तर्गत नरैनापुरमा २ हजार, राप्तीसोनारीमा १ हजार र कोहलपुरमा ५ सय घर निर्माणको लागि बजेट सुनिश्चित गरिदिन अर्थ मन्त्री शर्मालाई आग्रह गरेकी छन् ।

राप्तीसोनारीको वडा नम्बर ४, ५ र ७ तथा नरैनापुरको ५ नम्बर वडामा एकीकृत बस्ती विकास र निर्माण गर्नको लागि सहरी विकास मन्त्री चौधरीलाई उनले आग्रह गरेकी थिइन् । नेरामावि कुम्भर र नेरामावि धामपुरमा ६÷६ कोठे भवन तथा सहिद स्मृती सामुदायिक भवन निर्माणको लागि बजेटका साथै आफ्नो निर्वाचन क्षेत्रका वडाहरुमा १६ किलोमिटर पक्की नाली निर्माण, मोरङा खोलामा तीन किलोमिटर तटबन्धको लागि समेत बजेट दिन अर्थ मन्त्रीसँग उनले आग्रह गरेकी छन् ।