सांसद नमूनाद्वारा बाँकेमा दूरसञ्चार सेवाको गुणस्तर सुधार्न पहल

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलसँग कुरा गर्दै सांसद नमूना

नेपालगन्ज : प्रदेशसभा सदस्यमा मत माग्दै गाउँ बस्ती पुग्दा सांसद कृष्णा केसी नमूनाको ठाउँ ठाउँमा मोबाइल सम्पर्क विच्छेद हुन्थ्यो । उनी दिक्क मान्थिन । मतदाताले पनि दूरसञ्चार सेवा प्रभावित हुने गरेको गुनासो गरेका थिए । ‘फोनमा कुरा गर्दागर्दै एक्कासी सुनिँदैन । यस्तो सेवाले हैरान बनाएको छ’, स्थानीयले भोगेको यही समस्याको समाधान गर्ने सांसद नमूनाले प्रण लिएकी थिइन् ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रधानमन्त्रीको सपथ ग्रहण कार्यक्रममा सहभागी हुन काठमाडौं पुगेकी सांसद नमूनाले नेपाल टेलिकम केन्द्रीय कार्यालयमा पुगेर समस्या समाधान गर्न पहल गरेकी हुन् । टेलिकमले बाँकेमा गुणस्तरीय टेलिफोन सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ । दूरसञ्चार सेवा विच्छेदबाट स्थानीय मारमा पर्ने पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्ग क्षेत्रमा पर्ने बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका सबै क्षेत्रमा टावर थप्ने भएको हो । लुम्बिनी प्रदेशसभा सांसद कृष्णा केसी नमुनाले सोमबार नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौं पुगेर प्रबन्ध निर्देशक सुनिल पौडेलसँग भेट गरेपछि टेलिकमले टावर थप्ने जनाएको हो । प्रबन्ध निर्देशक पौडेलले कोहलपुर नगरपालिकाको चपरगौडीदेखि दाङको सिमाना शिवखोलासम्म र राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर, विनौनाहुँदै दाङको गोठुवासम्मको हुलाकी राजमार्ग तथा नरैनापुर र राप्तीसोनारीका टेलिफोनको पहुँच पुग्न नसकेका बस्तीहरुमा टावर थप्ने प्रतिबद्धता जनाएको सांसद नमूनाले टेलिफोन सम्पर्कमा जानकारी दिइन् ।
‘सबै क्षेत्रमा टेलिफोनको पहुँच पु¥याउनको लागि यसै साताबाट सर्वे समेत सुरु गर्ने प्रवन्ध निर्देशक ज्यूसँग सहमती भएको छ’ काठमाडौंमा रहेकी उनले भनिन्, ‘अहिले भएका टावरहरुमा समेत क्षमता विस्तारको कुरा भएको छ ।’
करिब चार वर्ष अघि दाङको शिवखोलादेखि कोहलपुरको चप्परगौडीसम्म सांसद नमुनाकै पहलमा भएको सर्वेले सात वटा नयाँ टावर थप गर्ने र ६ वटा टावरलाई स्तरउन्नती गर्नुपर्ने देखिएको थियो । केही स्थानमा टावर बने पनि अधिकांश स्थानमा टावर निर्माण गरिएको थिएन् । टावर निर्माणको लागि सर्वे भएर टेण्डर आह्वान भए पनि बाँके निकुञ्ज र वनका कारण काम अगाडि बढ्न सकेको थिएन ।