६ वर्षपछि नेपालगन्ज-२३ मा इन्टरनेट पहुँच !

नेपालगन्ज : संघीयता कार्यान्वयनको ६ वर्षपछि नेपालगन्ज उपमहानगरपालिकाको सबै वडामा इन्टरनेट सेवाको पहुँच भएको छ । इन्टरनेट पहुँच भन्दा बाहिर रहेको नेपालगन्जको वडा नम्बर २३ को कार्यालयमा बुधबार नगर प्रमुख प्रशान्त विष्टले इन्टरनेट सेवा शुभारम्भ गरेका हुन् । विष्टले वडाको काम अब छिटो छरितो हुने र स्थानीय लाभान्वित हुने बताए । ‘तपाईंहरु पनि अब सूचना प्रविधिसंग जोडिनुभएको छ, सूचनाको अधिकार उपभोग गर्न पाउने अवस्था बनेको छ, अब अनलाइनबाट छिटो छरितो काम हुन्छ’, नगर प्रमुख विष्टले भने । वडा नम्बर २३ मा वर्ल्डलिंकको इन्टरनेट जडान गरिएको सूचना प्रविधि शाखा प्रमुख घनश्याम वर्माले बताए ।