भेरी अस्पतालको डायलाइसिस सेवा चार सय गुणाले वृद्धि

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जले डायलाइसिस सेवा विस्तार गरेको छ ।
अस्पतालमा ३ वटा मेसिनले दैनिक २ सिफ्ट‌ गर्दा जम्मा ‌६ सेसनमा ६ जनाले सेवा पाइरहेकोमा अब ६ वटा मेसिनबाट‌ दैनिक ३ सिफ्टबाट १८ सेसनको सेवा विस्तार ‌गरेको हो । अब डायलाइसिस कक्ष ६ बाट १० वेड पुर्‍याइएको छ । योसँगै अस्पतालको डायलाइसिस सेवा चार सय गुणाले वृद्धि भएको अस्पतालले जनाएको छ । संंघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले आइतबार भेरी अस्पतालको डायलाइसिस कक्षको उद्घाटन गरे ।
स्वास्थ्यमन्त्री गिरीले सरकार गुणस्तरीय सेकाको पहुँच वृद्धि गर्न लागि परेको बताउँदै स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने बताए ।
भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य सूर्य ढकाल, डा. धवलशम्शेर राणा र दीपा शर्मा, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेल, महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, नीति योजना महाशाखा प्रमुख डा.कृष्ण पौडेललगायतको सहभागिता रहेको थियो । कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. बद्री चापागाईले अस्पतालको हालको अवस्था, अस्पतालले प्रवाह गरिरहेको सेवा, समस्या र भावी योजनाबारे जानकारी गराएका थिए ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेल र नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले बाँकेमा फैलिएको दादुरा महामारीको अवस्था र रोकथामबारे भइरहेको प्रयासबारे जानकारी गराएका थिए ।