सन्तानेश्वरका तीर्थयात्रीलाई नरैनापुरको स्वागत

नेपालगन्ज : सन्तानेश्वर महादेवको मन्दिरको दर्शन गर्न गएका तीर्थयात्रीलाई नरैनापुर गाउँपालिकाले स्वागत गरेको छ ।
कोहलपुर नगरपालिकाको वडा नं. १२ को जानकीनगर संस्कृति संरक्षण समितिको ६५ सदस्यीय टोलीलाई सोमबार नरैनापुर ६ कोहलामा गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह, वडा नं १ का अध्यक्ष इसाक जोलाह, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराललगायतले स्वागत गरेका थिए ।

अध्यक्ष शाहले नरैनापुरलाई पर्यटनको हबको विकास गर्न आफू लागि परेकोले बताएका थिए । २०७८ साउनमा नरैनापुर गाउँपालिकाले सन्तानेश्वर महादेव मन्दिरकोे प्रचार प्रसार गर्न सन्तानेश्वर महादेवको दर्शन गर्न जाउँ भनेर आव्हान गरेपछि साउन २ गते एकैदिन सात हजार दर्शनार्थीले दर्शन गरेका थिए । त्यसयता दिन यता विदाको दिनमा सन्तानेश्वरमा दर्शनार्थीको घुँइचो लाग्छ । बाँके सदरमुकाम नेपालगन्जबाट ३५ किलोमिटर पूर्व दक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर चुरे पहाडको टाकुरामा सन्तानेश्वर महादेवको मन्दिर छ ।