नेपालगन्जको चौथो प्रादेशिक महोत्सवको प्रदेश मन्त्री नमूनाद्वारा उद्घाटन

नेपालगन्ज : चौथो प्रादेशिक औद्योगिक लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सव-२०७९ नेपालगन्जमा सुरु भएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र सिवालय सेक्युरिटी एण्ड मल्टिपल प्रपोज कम्पनी प्रा.लि.ले आयोजना गरेको महोत्सवको लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी नमुनाले मंगलबार नेपालगन्जमा उद्घाटन गरेकी हुन् ।
ठूला उद्योगका साथै साना तथा घरेलु उद्योगहरुले समेत नेपालको आर्थिक विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेलेकाले राज्यले यस्ता उद्योगहरुको विकास र प्रबद्र्धन गर्नुपर्नेमा उनले जोड दिइन् ।
बाँकेमा निर्माणाधीन नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि संघीय सरकारले बजेट विनियोजन गरे पनि काम अगाडि बढ्न नसकेको भन्दै उनले प्रदेश सरकारले काम अगाडि बढाउन आफूले भूमिका खेल्ने बताइन् । ‘अहिले नेपालगन्जमा औद्योगिक क्षेत्र रहे पनि नौबस्तामा ठूलो औद्योगिक क्षेत्र बन्दैछ’, उनले भनिन्, ‘रोकिएका कामहरु अगाडि बढाउनको लागि प्रदेश सरकारले संघीय सरकारबीच पुलको काम गर्नेछ ।’
नौवस्ता औद्योगिक क्षेत्रमा केही समस्याहरु हल भए पनि अन्य समस्याहरु समेत सरोकारवालाहरु बसेर हल गर्नुपर्नेमा उनले जोड दिइन् । त्यहाँ बसोबास गर्ने मानिसहरुको घरवास र रोजगारीको ग्यारेण्टी राज्यले गर्नुपर्ने उनको भनाइ थियो ।
कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रिय अध्यक्ष उमेशप्रसाद सिंहले घरेलु तथा साना उद्योगको समस्याबारे स्थानीय सरकारले बेवास्ता गरेको आरोप लगाए । महासंघ बाँकेकी अध्यक्ष मधुकुमारी खड्काले पनि घरेलु तथा साना उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकारलाई ध्यानाकर्षण गरेकी थिइन् ।
आगामी २४ माघसम्म सञ्चालन हुने महोत्सवमा २ सय स्टल छन् । जसभित्र थारु होमस्टे, थारु गाउँ पनि समावेश गरिएको छ । महोत्सवमा मुख्य आर्कषकमा यस क्षेत्रमै पहिलो पटक कुस्ती प्रतियोगिता आयोजना हुनेछ । जसमा नेपालकै अन्तर्राष्ट्रिय खेलाडी दावा थापा लगायतको सहभागिता रहने आयोजकले जनाएका छन् ।’ महोत्सव उद्घाटन अघि नेपालगन्जको धम्बोझी चोकदेखि महोत्सव स्थलसम्म सांस्कृतिक झाँकी र -यालीको आयोजना गरिएको थियो ।