खोप नलगाएका ५ वर्ष मुनीका सबैलाई दादुराको खोप लगाउने व्यवस्था गरौं 

नेपालगन्जमा समुदायस्तरमा दादुरा फैलियो । बरिष्ठ बालरोग विशेषज्ञ डा. विनोद खेतानले यो वर्ष सबैभन्दा पहिले दादुराको बिरामीको पहिचान गरेका थिए । खोप पश्चात हुनसक्ने अवाञ्छित घटना अनुसन्धान समिति (एइएफआइ)का केन्द्रीय सदस्य तथा नेपालगन्जको बालरोगको उपचार गर्ने यशोदा अस्पतालका प्रमुख डा. खेतानसँग दादुरा बिरामीको अवस्था र समाधानका विषयमा शंकरप्रसाद खनालले गरेको कुराकानी :

दादुराको नेपालगन्जमा भेटिएको पहिलो बिरामी कस्तो अवस्थामा थियो ?
नेपालगन्ज–७ को पहिलो बिरामी थियो। यशोदा अस्पतालमा मकहाँ जचाउन आएको थियो। उसलाई ज्वरो थियो। आँखा राताराता थिए। जिउभरि साना–साना रायोको दाना जस्तै राताराता बिमिराहरू जिउभरि छरिएका थिए। मलाई दादुराको शंका लागेर रगत संकलन गरें। पछि डब्लूएचओले लिएर गयो। दोस्रो दादुराको बिरामी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भेटिएको थियो। त्यसको पनि रगत परीक्षण गर्न पठाइएको थियो। त्यसलगत्तै अरू पाँच सात जना नै आए। दादुराको बिरामीको शरीरको माथिल्लो भागबाट दानाहरू आउन सुरु हुन्छ। क्रमशः तलतिर सर्दै जान्छ। ज्वरो आएको पाँच(सात दिनमा दानाहरू निस्कन्छन्। हराउन पनि अर्को चार पाँच दिन लाग्छ। दादुराको कुनै उपचार नै हुँदैन। रोग नफैलियोस् भनेर रोक्ने मात्र हो। दादुराबाट निमोनिया हुन्छ। रुघाखोकी हुन्छ। कान पाक्छ। इन्सेझ्लाइटिस पनि हुन्छ। हामीले हेरेका केसहरूमा धेरैमा निमोनिया भएका थिए।

दादुराको पहिलो केस भेटिएको कहिले सार्वजनिक भयो त ?
पहिलो केस भेटिएको पन्ध्र(बीस दिनपछि मात्र सार्वजनिक भयो। डब्लूएचओको काठमाडौंबाट रिपोर्ट आउनै पन्ध्र दिन लाग्यो। यो दुई महिनाअघिको कुरा हो। पहिलो केस आएको १० दिनपछि अरू बिरामी पनि आए। रिपोर्ट कन्फर्म भयो दुई हप्तापछि। पुष्टि भएको अर्को करिब १५ दिनपछि मात्र दादुरा बिरामी फेला परेको सार्वजनिक भयो। त्यसपछि अरू पनि भेटिए। एकै परिवारका चार(पाँच जनामा पनि दादुरा भेटियो। समुदायमा विस्तार भइसकेको थाहा भयो। एउटा समुदायमा पाँचवटा मात्र बिरामी भेटिए पनि त्यसलाई आउट ब्रेक भएको मानिन्छ। साधारण भाषामा बुझ्दा आउट ब्रेक भनेको रोग फैलियो भन्ने हो। अब ज्वरो र राता बिमिरा भएका बिरामी देखिए भने रगत परीक्षण गर्न जरुरी मानिँदैन।

दादुराको केस भेटिएपछि के गर्नुभयो ?
दादुराको उपचार हुँदैन। यसको उपचार भनेकै ज्वरो नियन्त्रण गर्न सिटामोल खुवाउने मात्रै हो। दादुरा नै हो भन्ने पुष्टि भएपछि सिटामोलसँगै भिटामिन ए पनि खुवाइन्छ। यदि निमोनिया नै भइसकेको छ भने त्यो बेलामा एन्टिबायोटिक्सहरू खुवाउनु पर्छ। दादुराको केस भेटिने बित्तिकै जिल्ला स्वास्थ्य कार्यालयसँग हाम्रो मिटिङ भयो। मैले घरमै आइसोलेट गर्न सुझाव दिएँ। कोरोनाका बिरामीलाई जस्तै दादुराका बिरामीलाई अस्पतालमा आइसोलेसनमा राख्न सकिँदैनथ्यो। आइसोलेसनमा राख्दा अरू जनशक्ति व्यवस्थापन गर्न सकिने थिएन। हामीले घरमै आइसोलेट राख्ने भन्यौं र राखियो।

अस्पतालमै भर्ना गर्नुपर्ने अवस्थाका दादुराका बिरामी थिएनन् ?
म कहाँ आएका चार जना सिरियस बिरामी आएका थिए। मैले दुई जनालाई भेरीमा पठाए। दुई जना भेरी जान मानेनन्। मैले आझ्नै अस्पतालको एउटा कोठा आइसोलेट गरेर राखें। उनीहरू सिरियस अवस्थामा थिए। दुई÷तीन दिनपछि राम्रो भएर गए। धेरै जसो दादुराका बिरामीको घरकै आइसोलेसनमा राखेर उपचार भयो।

समुदाय स्तरमा दादुरा कस्तो अवस्था पाइयो ?
समुदाय स्तरमा फैलिएको थाहा भएपछि जिल्ला स्वास्थ्य कार्यालय र डब्लूएचओको टोलीले प्रभावित क्षेत्रमा समुदाय क्षेत्रबाट रगत संकलन गरेर परीक्षणका लागि पठायो। एउटै घरमा पनि धेरै जनामा दादुरा पाइयो। जहाँ जहाँ भेटियो। त्यो ठाउँमा खोप लगाइयो। सिटामोलसँगै भिटामिन ए पनि खुवाइएको छ। सम्पर्कमा आएका जति सबै बच्चाहरूलाई दादुराको खोप लगाइएको छ।

नेपालगन्जको एक जना बच्चालाई राति दादुरा आयो। बिहान निधन भयो। यो कस्तो अवस्था हो र ?
दादुरा भएको २४ घण्टाभित्रै मान्छे मर्दैन। मृत्यु हुनका लागि कडा निमोनिया भएको हुनुपर्छ। ज्वरो आउनु, दादुरा हुनु र निमोनिया हुन समय लाग्छ। तुरुन्तै दादुरा भएर मान्छे मर्दैन। निमोनिया भएका बिरामीलाई भेन्टिलेटरमै राख्नुपर्ने अवस्था पनि हुनसक्छ। नेपालगन्जमा मृत्यु भएको बालकलाई अन्य समस्याको सम्भावना पनि हुनसक्छ। अरू कारण पनि होलान् त्यहाँ। कन्फर्म नभएको कुराबारे म धेरै भन्न सक्दिनँ।

नेपालगन्जमा कसरी यति चाँडै धेरै विस्तार भयो त ? 
पहिचान नै ढिलो भयो। समुदायले रोग फैलिन नदिन सावधानी अपनाएनन्। लापरबाही गरे। जस्तो ः घरमा एउटा बच्चा छ। उसलाई दादुरा भयो। उसलाई आइसोलेट गरेर राख्नुपर्ने राखिएन। अरू बच्चालाई पनि सार्‍यो। जिल्ला स्वास्थ्य कार्यालयले थाहा पाउने बित्तिकै समयमै एक्सन लिएको छ। ठाउँ–ठाउँमा परीक्षण गरियो। उसले गर्नसम्म गर्‍यो। नेपालगन्जको समुदायमा स्वास्थ्य चेतनाको स्तर धेरै माथि छैन। सचेत भएको भए त खोप लगाउने पनि धेरै हुन्थे।

दादुराको संक्रमण भएका के सबै खोप नलगाएकै थिए ?
खोप नलगाएका धेरै थिए। खोप लगाएकाहरूमा पनि देखापर्‍यो। एक सय जनालाई दादुराको खोप लगायो भने ८५ जनालाई मात्र प्रभावकारिता हुन्छ। १५ जनालाई त हुँदैन नि रु हामी खोप लगाएका छौं भनेर ढुक्क हुन्छौं। अब मुक्ति पाए भन्ने हुन्छ। खोप प्रभावकारी भयो कि भएन भनेर टेस्ट कहिल्यै गर्दैनौं। त्यसैले पनि खोप लगाएका र लगाएका सबै संक्रमितभन्दा आइसोलेट भएर नै बस्नुपर्छ। नेपालगन्जमा सबैको आर्थिक अवस्था बलियो छैन। चार÷पाँच जना बच्चा एउटै कोठामा राखेर सुताइन्छ। त्यसबाट विस्तार हुन मद्दत मिल्छ। समस्या आइसकेपछि भने धेरैले खोप लगाएका छन्। अझ पनि शतप्रतिशत भएको छैन।

कुन उमेरका व्यक्तिलाई दादुरा भेटियो ?
कम्तीमा ९ महिनादेखि बढीमा १२ वर्षको बच्चालाई दादुरा भेटिएको छ। धेरैजसो बच्चाहरू तीन वर्षदेखि छ÷सात वर्षभित्रका छन्। निकै कम मात्र गम्भीर अवस्थाका थिए। मेरो सम्पर्कमा चार जना गम्भीर खालका थिए। सबै निको भएर गए।

नेपालगन्ज क्षेत्रमा दादुराको आउट ब्रेक कति वर्षपछि भएको हो ?
ज्वरो आएका र शरीरमा दाना भएका बिरामी आउँथे। दादुरा होला भनेर हामीले सोचेकै हुँदैनथ्यौं। रगत परीक्षण हुँदैनथ्यो। दादुरा परीक्षणका लागि रगत परीक्षण गराउँदा पैसा लाग्दैन। डब्लूएचओले नमुना संकलन गरेर दिने हो। उसले दादुरा भए नभएको कन्फर्म गर्छ। रुबेलाका बिरामी भेटिन्थे। दादुरा नभेटिएको त धेरै वर्ष भइसक्यो। पाँच(सात वर्ष अघि फाट्टफुट्ट भेटिन्थे। भेरी अस्पतालमा काम गर्दा दादुरा बिरामी आएका थिए।

अहिले नै दादुरा किन फैलियो त ?
धेरैले खोप लगाएनन्। एकै ठाउँमा धेरै जनालाई राखियो। एउटाले अर्कोलाई सारेको छ। स्कुल पनि गएकै छन्। ज्वरो आएको छ। दाना आएको छ भने समूहमा खेल्न पठाइयो। आइसोलेसनमा राख्नुपर्ने व्यक्तिले यी सबै नियम पालना नगरेका कारणले दादुरा फैलियो। म कहाँ आएका बिरामीका आफन्तले छिमेकीको बच्चालाई पनि यस्तै बिमिरा आएको बच्चा छ भन्थे। उसले कति ठाउँमा सारिसकेको हुन्छ। ज्वरो आएका सबै बिरामी त अस्पतालमा आउँदैनन् नि रु कोही मेडिकलमा जान्छन्। कोही क्लिनिकमा जान्छन् र औषधि खान्छन्। त्यहाँ गएका दादुराका बिरामीकोे पहिचान त हुँदैैन नि रु पोलियो उन्मुलन भइसक्यो। अहिलेका डाक्टरले त पोलियोको बिरामी हुन् वा होइनन् थाहा पाउँदैैनन्। दादुराको अवस्था पनि त्यस्तै हो। कसैले ख्याल नै गरेनन्। दादुरा पनि छ भन्ने ठानिएन। रगत नै परीक्षण भएन। पब्लिक हेल्थको हिसाबले रोगको पहिचान गर्नु, कन्टेम्ट गर्नु र फैलिनुबाट रोक्नु नै महत्वपूर्ण हुन्छ।

हामीले त पहिचान गर्न नै ढिलो गर्‍यौं नि ?
धेरैै ढिलो पनि होइन। डब्लूएचओलाई मेरो सुझाव के छ भने पोजेटिभ रिपोर्ट आउने बित्तिकै पठाइदिने गर्नुस्। एउटा रिपोर्ट आउन नै १५ दिन लगाउने गरिन्छ। किन यत्तिका दिन लगाउने। छिटो रिपोर्र्ट आउँदा छिटा सावधानी अपनाउन सकिन्छ।

उन्मुलन उन्मुुख रहेको दादुराका बिरामी नेपालमा मात्रै भेटिएका हुन् र ?
अहिले दादुराको समस्या नेपालमा मात्र होइन, विश्वव्यापी रूपमा देखिएको हो। थुप्रै ठाउँमा दादुरा देखापरेको छ। अन्य मुलुकमा पनि फैलिएको छ।

किन फैलिरहेको छ त ?
मुख्य कारण खोप नलगाउनु नै हो। दादुराको वाइट भाइरसले छिटो समुदायमा विस्तार गर्छ। त्यसैले खोप लगाएर वाइड भाइरसलाई नियन्त्रण गर्न सकिन्छ।

यसको समाधान के देख्नुहुन्छ ?
सबैले खोप लगाएका हुँदैनन्। अब लेफ्ट अफ भ्याक्सिनका लागि पनि सरकारले नीतिगत रूपमै व्यवस्था गर्नुपर्छ। त्यसैले जन्मेको बच्चालाई स्वास्थ्य संस्थामै भ्याक्सिन लगाउने व्यवस्था गर्नुपर्छ। नेपालमा ६ हप्तामा खोप लगाउने व्यवस्था गरिएको छ। दादुराको खोप लगाउन छुटेका बच्चाहरूलाई कुनै ठाउँमा अवसर सिर्जना गरेर लगाउने व्यवस्था गर्नुपर्छ। कान्तिबाल अस्पतालमा हप्तामा ६ दिन नै भ्याक्सिन लाग्छ। भेरी अस्पतालमा हप्तामा दुई दिन मात्र लाग्छ। भेरी अस्पतालमा पनि अब भ्याक्सिन लगाउने दिन बढाउन जरुरी छ। भ्याक्सिनप्रतिको पहुँच सहज हुनुपर्छ। सुलभ हुनपर्छ। हामीले भ्याक्सिन लगाउन कञ्जुस्याइ गर्नुहुँदैन।

नेपालमा अहिले अलिकति नीति परिवर्तन त भएको छ। पहिले ९ महिनासम्म बच्चालाई खोप लगाइन्थ्यो। अहिले १५ महिनासम्म खोप लगाउने व्यवस्था गरिएको छ। म के भन्न चाहन्छु भने दुुई तीन वर्षको बच्चाले पनि खोप लगाएको छैन भने खोप लगाउन सकिन्छ। जुन खोप बच्चाले लगाएको छैन। पाँच वर्षको उमेरसम्म पनि लगाउने व्यवस्था गर्नुपर्छ। अहिले अभियानकै रूपमा खोप लगाइएको हो। यदि संक्रमितको सम्पर्र्कमा आएको छ भने लगाएको व्यक्तिले फेरि पनि अर्को खोप लगाउनुपर्छ। अहिले पनि त्यस्ता व्यक्तिले दुई–दुई पटक खोप लगाएका छन्।

देशबाटै दादुरा उन्मुलनको तयारी गरिरहेको बेला राज्यले के गर्नुपर्ला ?
दादुरा अहिले नै उन्मुलन हुने छाँट देखिँदैन। दादुरा उन्मुलन हुन समय लाग्छ। सरकारले खोपको पहुँच शतप्रतिशत बढाउनुपर्छ। दादुराबारे विद्यालयको पाठ्यक्रममा राख्नुपर्छ। मिडियाबाट पनि व्यापक प्रचारप्रसार गरेर जनचेतना जगाउने काम गर्नुपर्छ। काठमाडौं पठाउँदा रिपोर्ट ढिलो आउँछ। यही परीक्षण गर्न सकिन्छ। दादुराको परीक्षण गर्न प्रदेश स्तरमै गर्ने व्यवस्था गर्नुपर्छ।