जानकी गाउँपालिकामा छोरीलाई सशक्तिकरण गरिँदै

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा छोरी सशक्तिकरण तालिम सुरु भएको छ ।
जानकी गाउँपालिकाको वडा नं. ६ को आर्थिक सहयोगमा महिला सहयोगी केन्द्र नेपालगन्जले आयोजना गरेको पाँच दिने छोरी सशक्तिकरण तालिमको बुधबार जानकी गाउँपालिका अध्यक्ष छब्बन खाँले शुभारम्भ गरेका हुन् । अध्यक्ष खाँले छोरीहरुको शिक्षा, वृत्ति विकास र उत्थानका लागि आफूले विशेष ध्यान दिएर छोरी लक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको बताए ।

कार्यक्रममा महिला सहयोगी केन्द्रकी अध्यक्ष माया थापा रानाले छोरीहरुलाई सशक्त र आत्मनिर्भर बनाइ समाजको मूल प्रवाहमा ल्याउन तालिम आयोजना गरिएको बताइन् ।

उद्घाटन कार्यक्रममा जानकी गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष जगदीशप्रसाद हरिजन, गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष टीकानाथ यादव, कार्यपालिका सदस्य रामआँचल धोवीलगायतको उपस्थिति रहेको थियो । निरज न्यौपाने र शंकरप्रसाद खनालले सहजीकरण गरिरहेको तालिममा २८ किशोरी तथा महिलाको सहभागिता रहेको छ ।