आचार्यको शोकमा नेपालगन्ज बजार बन्द हुँदै

नेपालगन्ज : काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहपछि निधन भएका व्यवसायी प्रेमप्रसाद आचार्य ‘सन्तोष’को शोकमा नेपालगन्ज बजार बन्द गर्ने भएको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघको बुधबार बसेको कार्य समिति बैठकले बिहीबार बिहानदेखि दिउँसो १ बजेरसम्म सम्पूर्ण उद्योग,व्यवसाय बन्द गर्ने निर्णय गरेको अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बताए । संघले बुधबार नेपालगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष मन्सुरीले बिहान १० बजेदेखि दिउँसो १ बजे धम्बोझीचोकमा शोकसभा गर्ने निर्णय गरिएको जानकारी दिए । आत्मदाह अघि व्यवसायी आचार्यले उठान गरेको आर्थिक क्षेत्रका अव्यवहारिक नीतिको पीडा हरेक उद्योगी र व्यवसायी भोग्नुपरिरहेको संघले जनाएको छ ।