गोरखा स्कुलको प्रदर्शनी हेरेर अभिभावकले भने वाह !

कोहलपुर : सिद्धान्त घोकेर विद्यार्थी पास मात्र हुन्छ । प्रयोगात्मक कार्यले विद्यार्थीलाई अब्बल साबित गर्छ । बाँके कोहलपुरको गोरखा युनाइटेड पब्लिक स्कुलले शनिबार आयोजना गरेको शैैक्षिक प्रदर्शनीले यही कुरा सिद्ध गरेको थियो ।

विद्यालयको दशौं वार्षिक अभिभावक दिवस तथा शैक्षिक प्रदर्शनीमा ब्याट्रीबाट छुकछुके आवाज निकाल्दै चलेको रेल देखेर अभिभावक विष्णु वेल्वासेलाई निकै खुसी लाग्यो । ‘हाइस्कुल पढ्ने विद्यार्थीको सिकाइ र अभ्यास तारिफयोग्य छ’, वेल्वासेले भने, ‘विद्यार्थीको प्रतिभाले मेरो मन जितेको छ ।’ उनकी छोरी काव्या वेल्वासे पढ्ने कक्षा ९ का विद्यार्थीले ब्याट्रीबाट चल्ने रेल बनाएका थिए ।

त्यसो त, प्रदर्शनीको उद्घाटन नै अदभूत थियो । कार्यक्रमका प्रमुख अथिति कोहलपुर नगरपालिका प्रमुख पूर्णप्रसाद आचार्यले रिमोट कन्ट्रोलको स्वीच थिचेपछि पटाका पड्किन्छ र प्रदर्शनीको ब्यानर खुल्छ । जुन ९ र १० कक्षाका विद्यार्थीले तयार गरेका थिए ।

कक्षा ११ र १२ का विज्ञानका विद्यार्थीले फिजिक्स, केमष्ट्री र बायोलोेजीमा पढेका कुरालाई व्यवहारमा उतार्न विज्ञान प्रविधिका विभिन्न यन्त्र विकास गरेका थिए । उनीहरुले सानो र ठूलोे सोलार प्यानल बनाएका थिए । नक्कली खाद्य बस्तु पत्ता लगाउने डिजिटल डिभाइस पनि बनाएका छन् । इन्जिनियरिङतर्फ हाइड्रोलिक मेसिन निर्माण गरेका छन् । जसले जीसीबीको जस्तै काम गर्छ । घरको पानी ट्याङ्की भरिएपछि आफैै मोटर बन्द हुने वाटर अटो सेन्सर प्रविधि बनाएका छन् । स्टार होटल र सपिङ मलमा जस्तै विद्यार्थीले फिङ्गर प्रिन्टको सेन्सरबाट ढोका खोल्ने र बन्द गर्न बनाएको प्रविधिले पनि अभिभावकको मन जितेको थियो ।

विद्यार्थीले पेन्टिङ बनाएर प्रदर्शनीमा राखेका थिए । हातले कढाइ गरेर बुट्टा भरेका कलाका सामग्री, फोटो फ्रेम, बाँस र सनपाटका झोलाहरु कला प्रदर्शनीमा राखिएका थिए । पेन्टिङ बिक्री पनि भएको थियो ।

बीएस्सी एजीका विद्यार्थीले कृषि सम्बन्धी प्रदर्शनी गरेका थिए । जहाँ एकीकृत कृषि फर्ममा माछापालन, कुखुरापालन, सागसब्जी सबै एउटै ठाउँमा गर्न सकिने प्रविधिको विकास गरेका थिए । तराई र पहाडमा कसरी खेतीपाती गर्ने ? कुन कुन महिनामा कुन कृषि उपजका बिउ लगाउने भनेर १२ महिनाको नाम र बिउ राखेर जानकारी दिइएको थियो ।

कलेजमा बीएस्सी एजीका चार सेमेष्टर पढेका विद्यार्थीको एउटा एउटा स्टल थियो । उनीहरुले आफूले पढ्ने बेला उत्पादन गरेका कृषि उपज र तरकारी पनि बिक्री गरेका थिए । थोपा सिँचाइ प्रणालीबाट फूलका बिरुवा रोपिएको थियो । खेती गर्दा काम लाग्ने किरा र दुश्मन किराबारे पनि पूर्ण जानकारी गराउन शिशाको फ्रेममा किरा राखिएको थियो ।

गणितको प्रदर्शनीमा जमेट्री सिकाउने, फर्मुला बुझाउने विधि र उचाइ नाप्ने मेसिन बनाइएको थियो । नेपालीमा व्याकरणलाई तस्बिरका रुपमा सिकाउने विधि, साहित्यकारको परिचय र पुस्तकालय व्यवस्थापनका कुरा उल्लेख थियो । लोकबाजा, पूराना गरगहनाको एकीकृत प्रदर्शनी गर्दै तिनको आधुनिक रुपमा कसरी प्रयोग गर्न सकिन्छ भनेर सामाजिकको प्रदर्शनीमा राखिएको थियो ।

नर्सरीदेखि युकेजीसम्मका विद्यार्थीलाई कसरी ‘लर्निङ बाइ डुइङ’ खेल विधिबाट कसरी सिकाउने भन्नेबारे एउटा स्टल राखिएको थियो । जहाँ विद्यार्थीले तयार गरेका हेण्डबुक, उनीहरुले बनाएका चित्र, सिक्न विकास गरेको पद्दति, विद्यालयले तयार गरेको पाठ्यक्रमलाई प्रदर्शनीमा राखिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर आले फागुन महिनाको १ गतेदेखि नै नर्सरीदेखि युकेजीका विद्यार्थीलाई खेल्दै, नाच्दै पढ्ने शिक्षण अभ्यास गरिने बताए । यी तहका विद्यार्थीले स्कुलमा रमाउँदै सिक्नेछन् । जे गर्छन् । जसरी पढ्छन् । सबै स्कुलमा मात्र सिमित हुनेछ । घरमा फेरि होमवर्क गर्नुपर्ने छैन ।

कार्यक्रममा नर्सरीदेखि ५ कक्षासम्मका विद्यार्थीले गीत, नृत्यलगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने कक्षा ६ देखि बीएस्सी एजीसम्मका विद्यार्थीले आफूले सैद्धान्तिक रुपमा पढेका कुरालाई प्रदर्शनीको रुपमा प्रस्तुत गरेका थिए । प्रदर्शनी हेरेर अभिभावकहरु भनिरहेका थिए, ‘वाह ! प्रदर्शनी होस त यस्तो ।’

प्रदर्शनी अवलोकन गरेका यमनाथ पौडेलले फेसबुकमा लेखेका छन्, ‘प्रदर्शनी अवलोकन गर्दा भाइबहिनीहरुले उत्साहका साथ बनाएका विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला, गणित र कृषिसँग सम्बन्धित प्रोजेक्टहरु अनुकरणीय थिए।’ आतंक बस्नेतले त ‘प्रदर्शनी अवलोकन गर्दै गर्दा मन खुसी भएर आयो’ भनेर फेसबुकमा लेखेका छन् ।

पत्रकार टीएस ठकुरीले पनि फेसबुकमा लेख्छन्, ‘लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमै अग्रणी गोरखा युनाइटेड पब्लिक स्कुलले हरेक वर्ष लोभलाग्दो गरी अभिभावक दिवस मनाउने गर्दछ । विज्ञान प्रदर्शनी, चित्रकला, वास्तुकला लगायत रचनात्मक कार्य र सांस्कृतिक कार्यक्रम झन् भव्य लाग्यो । भुतपूर्व ब्रिटिस गोरखा सेनाका अवकाशप्राप्त समूहले सञ्चालन गरेको शैक्षिक संस्था साँच्चिकै उत्कृष्ट छ ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशरबहादुर आले विद्यार्थीलाई ‘गर र सिक’को अवधारणामा आधारित एक्काइसौं शताब्दी सुहाउँदो शिक्षण सिकाइलाई व्यवहारिक र वैज्ञानिक बनाउन आधुनिक शिक्षण विधिमा आधारित रहेर प्रदर्शनी आयोजना गरेको बताउँछन् । उनी भन्छन्, ‘अब हामी हरेक कक्षामा ल्याब नै बनाउँछौं । जे कुरा किताबमा सिद्धान्त पढ्छन् । ती कुरा ल्याबमा गएर विद्यार्थीलाई देखाइन्छ । विद्यार्थीले पनि प्रोजेक्ट वर्कको रुपमा बनाएर ल्याउने भए । यसो हुँदा विद्यार्थीले घोक्न पर्दैन । आफै गर्दै सिक्छन् । जान्ने हुन्छन् ।’