अपराध नियन्त्रण गर्न फागुनदेखि लुम्बिनी प्रदेशमा प्रहरीको विशेष कार्ययोजना

नेपालगन्ज : नेपाल प्रहरीको लुम्बिनी प्रदेश प्रमुख डीआइजी टेकप्रसाद राईले अपराध नियन्त्रण गर्न फागुनदेखि विशेष योजना बनाएर काम गर्न लागेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेले प्रदेश प्रमुख राईलाई स्वागत तथा जिल्लाको शान्ति सुरक्षाबारे जनप्रतिनिधि, नागरिक समाज, पत्रकारसँग सुझाव संकलन गर्न आयोजित कार्यक्रममा डीआइजी राईले लागू औषध सेवन तथा ओसारपसार नियन्त्रण, सवारी दुर्घटना न्यूनिकरण, आत्महत्या रोकथाम, फरार अभियुक्त पक्राउ गर्ने, सीमा क्षेत्रमा हुने अपराध र तस्करी नियन्त्रणलाई विशेष योजना बनाएको बताए ।

‘यी काम प्रहरीको वार्षिक कार्ययोजनामा त छँदैछ । काम पनि भइरहेको छ । लुम्बिनी प्रदेशको अपराधको अवस्था विश्लेषण गरेर आउने हप्ता फागुनदेखि लागू हुने गरी विशेष कार्ययोजना बनाएर काम गर्न गइरहेका छौं ।’ बाँकेमा प्रहरी प्रमुखको रुपमा १८ महिना काम गर्दा जिल्लाको मुख्य समस्या लागूऔषध नै भएको बताए । उनले अनुभव सुनाए, ‘यहाँ मात्र होइन, नेपालमा प्रत्येक वर्ष २.६ प्रतिशतले लागूऔषधको सेवन र ओसारपसार बुद्धि भइरहको छ । पहाडबाट गाँजा चरेस आउँछ । तराईबाट ब्राउन सुगर जस्तो लागूऔषध पहाडमा जान्छ । यसको नियन्त्रण गर्नु प्रहरीको मुख्य कर्तव्य हो ।
सो अवसरमा प्रतिनिधिसभा सदस्य डा.धवल शम्शेर राणा, प्रदेशसभा सदस्यहरु भण्डारीलाल अहिर, आदेश अग्रवाल, मीना श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिका प्रमुख प्रशान्त विष्टलगायत स्थानीय सरकारका प्रमुख, उपप्रमुख, धर्मगुरु, नागरिक अगुवाहरुले नेपाल प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न सुझाव दिएका थिए । कार्यक्रममा राप्ती–सोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेल, जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह, बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश शाही, कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदी लगायतले प्रहरीलाई विभिन्न सुझाव दिएका थिए । बाँकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जिल्लाका समग्र शान्ति सुरक्षा र अन्य ब्यवस्थापनमा मिलेर काम गर्ने प्रतिबद्धता जनाएका थिए । उनीहरुले लागूऔषध नियन्त्रण, अवैध चोरी निकासी रोकथाम, स्थानीय तहमा नेपाल प्रहरी र ट्राफिक प्रहरीका युनिटहरु स्थापना गर्न प्रदेश प्रहरी प्रमुख राईलाई ध्यानाकर्षण गरेका थिए । कार्यक्रममा जिल्लामा सामाजिक ुसद्भाव कायम गर्न योगदान गरेको भन्दै बागेश्वरी मन्दिरका महन्त चन्दनाथ योगी, मुस्लिम मौलाना, इसाइ पास्टर र बौद्ध भिक्षुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।