एक हजारका नक्कली ५६९ वटा नोटसहित नेपालगन्जबाट ३ पक्राउ

नेपालगन्ज : बाँके प्रहरीले नक्कली एक हजार रुपैयाँका पाँच लाख ६९ हजार रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख सन्तोष सिंह राठौरका अनुसार नेपालगन्ज उपमहानगरपालिका–२ न्यूरोडमा मंगलबार अपरान्ह ५ः३० बजेतिर शंकास्पद अवस्थामा हिँडिरहेको बेला खानतलासी गर्दा चेकजाँच गर्दा उनीहरुले बोकेको झोलामा नक्कली एक हजारका नेता फेला परेको ।
कोहलपुर नगरपालिका–११ का ३३ वर्षीय मोहन कुमाइ (३३), अछामको तुर्माखाँद गाउँपालिका–३ का ३० वर्षीय दीपक विसी र सल्यानको वनगाड कुपिन्डे नगरपालिकाका ३० वर्षीय मोहन रानालाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता रामप्रसाद घर्ती मगरले जानकारी दिए । नोट कहाँबाट कसरी ल्याइएको हो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यसअघि गत माघको पहिलो साता नेपालगन्जको धम्बोझीस्थित पाहुना घर होटलबाट नक्कली नोट छाप्ने मेसिनसहित केही थान नक्कली नोट प्रहरीले बरामद गरेको थियो । पुस २९ गतेदेखि होटलमा बसेका एक व्यक्तिले होटलमा बसेर नक्कली नोट छपाइ गरेको पाइएको छ । ३० गतेसम्म होटलमा आउने र जाने गरेका ती व्यक्ति दुई दिनसम्म नदेखिएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले गएर कोठामा हेर्दा ५० रुपैयाँका केही थान नक्कली नोटसहित पैसा छाप्ने प्रिन्टर बरामद गरेको थियो । फरार रहेका ती व्यक्तिको प्रहरीले खोजी गरिरहेको बेला फेरि नक्कली नोट फेला परेको छ ।