नेपालगन्जबाट १७० बोरा अवैध गहुँ बरामद, नेपालगन्ज भन्सारले बुझ्न मानेन

नेपालगन्ज : बाँकेबाट प्रहरीले १७० बोरा अवैध गहुँ नियन्त्रणमा लिएको छ ।
लुुम्बिनी प्रदेश प्रहरी व्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले मंगलबार अपरान्ह नेपालगन्ज उपमहानगरपालिकाको फुल्टेक्रा रोडको पुरैना क्षेत्रबाट भे १ ख १८७१ नंं को ट्रकबाट १६० बोरा र भे १ ह ५६०४ नंं.को अटोबाट १० बोरा गहुँ बरामद गरेको हो । अटोका सञ्चालकले प्रहरीलाई बेतहनी क्षेत्रबाट गहुँ ओसारेको बताएका थिए । एउटा ट्रक र अटो प्रहरीले नियन्त्रणमा लिए पनि थप दुई वटा अटो पनि गहुँ ओसार्न गएको अटो चालकले प्रहरीलाई बताएका थिए ।

बाँकेका प्रहरी प्रमुख सन्तोषसिंह राठौरले बरामद गरिएको गहुँ मंगलबार नै नेपालगन्ज भन्सार कार्यालयलाई हस्तान्तरणको प्रयास भए पनि भन्सारले नबुझेको बताए । नेपालगन्ज भन्सार कार्यालय प्रमुख नरबहादुर थापाले मेरो खुसीसँगको मोबाइल सम्पर्कमा सुरुमा त गहुँ प्रहरीबाट नआएको बताए । भन्सारले गहुँ बुझ्न किन नमानेको होला भनेर राखेको थप जिज्ञासापछि भने भन्सार प्रमुख थापाले प्रतिवेदन नमिलेर फिर्ता पठाएको बताएका थिए । ‘प्रतिवेदन चै मिलेको छैन भनेको छ । राति ६ बजेको थियो । त्यसपछि ल्याएर आउँछु भने ल्याएनन् क्यार’, उनले भने, ‘बिल भरपाइ सहितको छ भनेर आएको थियो । बिल भरपाइ छैन भनेर लेख प्रतिवेदनमा भनेको हामी प्रतिवेदनमा हामी मिलाएर ल्याउँछौं । त्यसपछि आएको मलाई जानकारी भएन ।’
लुम्बिनी प्रदेश प्रहरीले अवैध भन्सार नियन्त्रणमा कार्य योजना बनाएर काम गरिरहेको छ । केही दिन अघि नेपालगन्ज आएका लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी टेकप्रसाद राईसँग बाँकेका जनप्रतिनिधि, उद्योगी व्यवसायीले सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न ध्यानाकर्षण गरेका थिए । डीआइजी राईले भन्सार क्षेत्रमा कडाइ गर्न बाँकेका प्रहरी युनिटहरुलाई निर्देशन दिएका थिए ।