स्कुले छात्रालाई सेनेटरी प्याड बनाउने तालिम

नेपालगन्ज : बाँके जिल्लाको जानकी गाउँपालिकाको सामुदायिक विद्यालयका छात्राहरुलाई सेमेटरी प्याड बनाउने तालिम निःशुल्क दिइएको छ ।
महिला सहयोगी केन्द्र बाँके र स्मार्ट बेटी समूूहले जानकी–६ भाटनपूर्वाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका छात्राहरुलाई रुपमा पुनः प्रयोग गर्न मिल्ने सेमेटरी प्याड बनाउने तालिम दिएको हो ।

प्याड बनाउने तालिमको जानकी गाउँपालिक–६ का वडाध्यक्ष जगदीशप्रसाद हरिजनले मंगलबार शुभारम्भ गर्दै वडाका छोरीहरुलाई सशक्तिकरण गर्दै स्मार्ट छोरी बनाउने बताए । उनले भने, ‘हाम्रो वडाका छोरीहरु अब डराउनेवाला र कमजोर होइन । स्मार्ट हुनुपर्छ । सक्षम हुनुपर्छ । त्यसका लागि वडाले पनि सहयोग गर्नेछ ।’
विद्यालयका प्रधानाध्यापक अयोध्याप्रसाद यादव, सह–प्रधानाध्यापक दीपराज आरसी र शिक्षिका शीला श्रेष्ठले आर्थिक अवस्था कमजोर भएका छात्राहरुका लागि पुनः प्रयोग गर्र्न मिल्ने सेनेटरी प्याड बनाउन सिकेर लाभ लिने बताएका थिए । शिक्षिका श्रेष्ठले तत्काल प्याड आवश्यक पर्ने छात्राका लागि विद्यालयले पनि उपलब्ध गराइरहेको जानकारी दिइन् ।

कार्यक्रममा आयोजक महिला सहयोगी केन्द्रका अध्यक्ष माया थापा रानाले पुनः प्रयोग गर्न मिल्ने प्याड स्वच्छ र सुरक्षित भएकाले एक पटक प्रयोग गरेपछि धोएर पुनः प्रयोग गर्न सकिने बताइन् ।

विद्यालयका कक्षा ६ देखि १० कक्षासम्मका ४८ जना विद्यार्थीलाई एक दिने निःशुल्क प्याड बनाउने तालिम लिएका थिए । प्याड बनाउने तालिमको महिला सहयोगी केन्द्रका सचिव आरती चौधरीले सहजीकरण गरेकी थिइन् ।

यसअघि प्याड बनाउने तालिम लिएका स्मार्ट बेटी समूहका लक्ष्मीकुमारी महतरा, कविता वर्मा, सोनिया खटिक, सञ्जु कलवार, मुना पुन, पूजा कठायत, ममता पासी, हिराकुमारी हरिजनलगायतले प्याड बनाउन छात्रालाई सघाएका थिए ।

तालिमपछि विद्यालयका हरेक छात्राले एक एक वटा प्याड बनाएका थिए । उनीहरुले घरका अन्य सदस्य र टोल समाजका दिदीबहिनीहरुलाई पनि प्याड बनाउन सिकाउने प्रतिबद्धता जनाएका थिए ।

फोहर प्याड फाल्ने डस्बिन सहयोग
महिला सहयोगी केन्द्र बाँके र स्मार्ट बेटी समूूहले नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा फोहर प्याड फाल्ने डस्बिन सहयोग गरेको छ ।

संस्थाले अध्यक्ष जानकी गाउँपालिक ६ का वडाध्यक्ष जगदीशप्रसाद हरिजन र विद्यालयका प्रधानाध्यापक अयोध्याप्रसाद यादवलाई मंगलबार डस्बिन हस्तान्तरण गरेको हो । छात्रा शौैचालयमा फोहर प्याड फाल्ने डस्बिन नभएको देखेपछि डस्बिन सहयोग गरिएको केन्द्रका अध्यक्ष माया थापा रानाले बताइन् ।
OOO
बाँकेको जानकी गाउँपालिका–६ भाटनपूर्वाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पुनः प्रयोग गर्न मिल्ने सेमेटरी प्याड बनाउने तालिम