जानकीको भाटनपूर्वा माविमा पनि स्मार्ट बेटी समूह गठन

बाँकेको जानकी गाउँपालिका–६ भाटनपूर्वाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा गठन गरिएको स्मार्ट बेटी समूह

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नं. ६ भाटनपूर्वामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा पनि स्मार्ट बेटी समूह गठन गरिएको छ ।
विद्यालयको कक्षा ९ की छात्रा पुनम मिश्र संयोजक र कक्षा ९ कै नन्दिता वर्मा सह–संयोजक रहेको १७ सदस्यीय समूह गठन गरिएको हो । समूहको सदस्यहरुमा निशा वर्मा, पार्वती पाल, प्रमिता भाट, अंकिता वर्मा, कुसुम तमोली, गयामति तमोली, अनिशा गोडिया, पार्वती पासी, शीला पासी, अंकिता धोबी, चाँदनी वर्मा, भूमिका वर्मा, मनिषा भाट, लक्ष्मी धोवी र सेजल गुप्ता सदस्य रहेका छन् ।
समूहको संरक्षकमा विद्यालयका प्रधानाध्यापक अयोध्याप्रसाद यादव, शिक्षिका शीला श्रेष्ठ, महिला सहयोगी केन्द्रका अध्यक्ष माया थापा राना र स्मार्ट बेटी समूह जानकी गाउँपालिका संयोजक लक्ष्मी महतरा रहेका छन् ।
कार्य समितिमा कक्षा ६ देखि ९ सम्मका छात्रा रहे पनि स्मार्ट बेटी समूहमा विद्यालयमा अध्ययन गरिरहेका सबै छात्रा स्वतः साधारण सदस्य हुनेछन् । यसअघि समुदाय स्तरबाट लक्ष्मी महतरा संयोजक रहेको १७ सदस्यीय जानकी गाउँपालिका स्तरीय स्मार्ट बेटी समूह गठन भएको थियो ।
छोरीहरुलाई आर्थिक र सामाजिक रुपमा सशक्तिकरण गर्दै बालिका, किशोरी र महिलाको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले विद्यालय र समुदाय स्तरमा स्मार्ट बेटी समूह गठन अभियानको रुपमा सुरु भएको हो । छोरीलाई आवश्यक पर्ने जीवनोपयोगी सीप र क्षमता अभिबृद्धि सम्बन्धी विभिन्न तालिम सञ्चालन गरेर छोरी सशक्तिकरण गर्दै आत्मनिर्भर बनाउने अभियानको लक्ष्य हो । यो अभियानले समाजमा रहेका कुप्रथा, कुसंस्कार, रुढिवादी मान्यताविरुद्ध अभियान सञ्चालन गर्ने लक्ष्य रहेको जानकी गाउँपालिका स्तरीय स्मार्ट बेटी समूहका संयोजक लक्ष्मी महतरा बताउँछिन् ।
स्मार्ट बेटी समूहको प्रबद्र्धक संस्था महिला सहयोगी केन्द्र बाँकेकी अध्यक्ष माया थापा राना पहिलो चरणमा विद्यालय र समुदायका छोरीहरुलाई पुनः प्रयोग गर्न मिल्ने सेनिटरी प्याड बनाउने तालिम निःशुल्क रुपमा दिइरहेको बताउँछिन् । उनी भन्छिन्, ‘स्मार्ट बेटीलाई प्याड बनाउने तालिममा कतैबाट आर्थिक सहयोग प्राप्त भएको छैन । ग्रामीण भेगका छोरीहरुले आफैले सेनेटरी प्याड बनाएर लगाउन सकुन् भन्ने उद्देश्यले तालिम दिइरहेका छौं । जानकी गाउँपालिकाबाट सुरु भएको यो अभियान जिल्लाका सबै स्थानीय तह र जिल्ला बाहिर लैजाने योजना छ ।’