शिवरात्रिको रौनक, ब्रह्मकुमारीले १५ दिने अभियानका रुपमा मनायो

नेपालगन्ज : विश्वभरका हिन्दू धर्मावलम्बीले महाशिवरात्री शनिबार श्रद्धाभक्तिपूर्वक शिवालयहरुमा भगवान् शिवको पूजाआजा गरी मनाइका छन् ।
कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा यसलाई पुराणमा वर्णन गरिएको छ । व्रतमा सर्वोत्तम व्रतका रुपमा लिइने यस पर्वका दिन उपवास गरी ‘ऊँ नमः शिवाय’ मन्त्र जप्ने गरेमा सर्वसिद्ध भइ यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपाल क्षेत्रीय कार्यालय, नेपालगन्जले यो वर्ष महाशिवरात्रि पर्वलाई ८७औं महाशिवरात्रि महोत्सवको रुपमा लागू पदार्थ दुव्र्यसनविरुद्ध १५ दिने अभियानका भव्य रुपमा मनाइएको छ । महोत्सव अन्तर्गत शिवरात्रिको दिन शनिबार बिहान आयोजना गरिएको शिव ध्वजारोहण, स्नेह मिलन तथा प्रवचन समारोह सम्पन्न भयो ।
सो अवसरमा प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य डा. धवलशम्सेर राणाले सबै मानव समुदायलाई सकारात्मक बाटोमा डोर्याएर शान्तिको मार्गमा उन्मुख गराउने महान उद्देश्य बोकेको ब्रह्माकुमारी ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्रले महाशिवरात्रिको अवसरमा यस वर्ष लागू पदार्थ दुव्र्यसनविरुद्ध १५ दिनसम्म जनचेतना जागरण गर्ने अभियान सञ्चालन गरेकोमा सराहना गरे । यो महान अभियानले लागू पदार्थको कुलतमा फसेका युवा तथा सबै नागरिकलाई यसबाट मुक्त गर्ने प्रेरणा प्रदान गर्ने विश्वास गरे ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य दीपा शर्मा, लुम्विनी प्रदेश सभा सदस्य मीना श्रेष्ठ, बागेश्वरी मन्दिर शक्तिपिठका मूल महन्त चन्द्रनाथ योगी, प्रमुख जिल्ला अधिकारी विपिन आचार्य, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापतिे गोवर्धन सिंह क्षेत्री, वरिष्ठ पत्रकार पूर्णलाल चुके लगायतले महाशिवरात्रि पर्व र कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
समारोहका अध्यक्षको आसनबाट ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, नेपालकी केन्द्रीय उपाध्यक्ष एवं क्षेत्रीय प्रमुख ब्रह्माकुमारी ब्र.कु. राजयोगिनी दुर्गाले यस विश्वविद्यालयले महाशिवरात्रि पर्वलाई ८७ औं अवतरणोत्सवको रुपमा मनाइरहेको छ, समय अन्ततिर गइरहेको छ, समयमा जागौं स्वयंलाई जगाऔं, आध्यात्मिक सशक्तिकरण तिर अगाडि बढौं, नसापान गर्ने आदत र विकृत संस्कारलाई शिव भोलेनाथ शिवबाबालाई दान गरेर शुभकर्मतिर अग्रसर होआंै भन्दै तब मात्र हामीले महाशिवरात्रि पर्व मनाएको सार्थक हुनेछ भनिन् ।

ईश्वरीय विश्व विद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र, पोखराकी प्रमुख व्रम्हाकुमारी गोमाले ईश्वरीय विश्व विद्यालयकोे विस्तृत परिचय दिएकी थिइन् । सो अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य माया पुन, अम्बिका काफ्ले, नेपालगन्जका नगर प्रमुख प्रशान्त विष्ट, जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिहं राठौर, लगायतको सहभागितामा रहेको थियो ।
कार्यक्रममा कुमारी रेण्ुा, सुजिता, सुजता, हिमाञ्जली, कल्पना (ग्रुप) कुमारी रुविना, सुदिक्षा र कुमारी रेणुद्वारा विभिन्न साँस्कृतिक नृत्यहरु र शिव ताण्डव नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रममा क्षेत्रीय सचिव ब्रह्मकुमार कृष्णले स्वागत गरेका थिए ।