देशभरको मानव अधिकार उल्लंघनका घटनामा एक तिहाइ लुम्बिनी प्रदेशमा

नेपालगन्ज : नेपालमा सन् २०२२ मा देशका सात प्रदेशमध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै मानव अधिकार उल्लंघन भएको छ ।
इन्सेकले आइतबार सार्वजनिक गरेको ‘नेपाल मानव अधिकार वर्ष पुस्तक-२०२३’ मा देशभरको मानव अधिकार उल्लंघनको घटनामध्ये एक तिहाइ लुम्बिनी प्रदेशमा मात्र छन् । इन्सेक लुम्बिनी प्रदेश कार्यालयका प्रमुख भोला महतले आइतबार नेपालगन्जमा पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको तथ्याङ्कमा देशभर ७ हजार ३७६ मानव अधिकार उल्लंघन भएकोमा लुम्बिनी प्रदेशमा मात्र २ हजार १८ उल्लंघनका घटना भएको जानकारी दिए । जुन कूल घटनाको २७.३५ प्रतिशत हो ।
सन् २०२२ मा लुम्बिनी प्रदेशमा विभिन्न घटना परी २ सय १८ जना बालबालिका पीडित भए । घरेलु हिंसा, बलात्कार, कथित बोक्सी आरोप लागयतका घटना यस वर्ष लुम्बिनी प्रदेशमा अभिलेख गरिए । लुम्बिनी प्रदेशमा यस वर्ष १६२३ जना महिला विभिन्न हिंसामा परी पीडित भए । लुम्बिनी प्रदेशको मानव अधिकार उल्लंघन र ज्यादतीका घटनामा विगतका वर्षहरुमा भन्दा कमी आउन सकेन । सन् २०२१ म लुम्बिनी प्रदेशमा एक हजार ७८६ घटना इन्सेकले अभिलेख गरेको थियो भने सन् २०२२ मा २ हजार ८४ घटना अभिलेख गरिएका छन् । जसमध्ये राज्य पक्षबाट ६६ जना पीडित भएका छन् ।