विश्वकै दुर्लभ शिवलिङ्ग रहेको टीकापुरको पद्म प्रकाशेश्वरमा महायज्ञ हुँदै

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका ७ सत्तीको रहेको पुरातात्त्विक महत्त्वको विश्वकै दुर्लभ शिवलिङ्ग रहेको पद्म प्रकाशेश्वर महादेव मन्दिरमा महायज्ञ हुने भएको छ ।
आगामी चैत ८ गतेदेखि १५ गतेसम्म श्रीमद भागवत भक्ति संगत अनुष्ठान २०७९ हुने भएको महायज्ञ हुने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विदुरलाल कायस्थले जानकारी दिए । परापूर्वकालमा भगवान पर्शुरामले स्थापना गरेको नेपालकै सबैभन्दा ठूलो, पुर्वाभिमुख भएको विश्वकै दुर्लभ शिवलिङ्ग रहेको पद्म प्रकाशेश्वर महादेव मन्दिरको आयोजनामा ११ वर्षपछि पुनः महायज्ञ गरिन लागेको पत्रकार सम्मेलनमा अध्यक्ष कायस्थले बताए । महायज्ञबाट संकलन भएको रकमले मन्दिरको क्षेत्र विस्तारका लागि ५ कठ्ठा जमिन खरिद गरिने जनाएको छ । महायज्ञमा राष्ट्रिय विभूषित कथा ब्यास नारीरत्न विदुषि आचार्य सुश्री अनुराधा देवीजीको मुखारबिन्दुबाट कथा बाचन हुने समेत जनाइएको छ। महायज्ञ अवधिमा बिहान ७ बजे पूजापाठ हुने ८ बजे पाठपारायण र १० देखि ४ बजेसम्म कथा बाचन हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।