नेपाली क्रिकेट टिम विश्वकपको ग्लोबल छनोटमा, हार्दिक बधाइ टिम नेपाल

नेपालगन्ज : नेपाली क्रिकेट टिम एकदिवसीय विश्वकपको ग्लोबल छनोटमा पुगेको छ।
बिहीबार किर्तीपुरस्थित खेल मैदानमा आइसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएइलाई डकवर्थ लेविस (डीएल) मेथडमा पराजित गर्दै नेपालले विश्वकपको यात्रा तय गरेको हो ।
खराब प्रकाशका कारण ४४ ओभरमा रोकिएको खेलमा नेपालले डीएल मेथडमा पाएको दुई सय ६७ रनको लक्ष्यभन्दा दुई रन धेरै बनाएको थियो। डीएलमेथडमा नेपालले ९ रनको जित निकाल्दै जिम्बाब्वे यात्रा तय गर्यो। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ६ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गरेको थियो । जितसँगै लिग २ मा तेस्रो बनेको नेपालले जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। विश्वभरका नेपालीले भनिरहेका छन्, ‘हार्दिक बधाइ टिम नेपाल ।’

स्कटल्यान्ड यसअघि नै लिग २ च्याम्पियन बनिसकेको छ भने ओमान दोस्रो भइसकेका छन्। ग्लोबल छनोटमा नेपालले जिम्बाब्वे, नेदरल्यान्ड्स, ओमान र स्कटल्यान्डसँग खेल्ने निश्चित छ भने बाँकी पाँच टिमको टुङ्गो लाग्न बाँकी छ।