महेन्द्र क्याम्पस नेपालगन्जमा ९ विद्यार्थी संगठनको समर्थनमा माधव अध्यक्ष उम्मेदवार

नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा ९ विद्यार्थी संगठनको साझा उम्मेदवारको रुपमा स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा माधव खत्रीले शुक्रबार उम्मेदवारी दर्ता गरेका छन् ।
नेकपा (एमाले)को भातृ संगठन अनेरास्ववियू, नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारी, जेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू, विप्लब निकट अखिल क्रान्तिकारी, नेपाल समाजवादी पार्टीको नेपाल समाजवादी विद्यार्थी यूनियन, अखिल छैठौँ र राप्रपा निकट राप्रविसंघले खत्रीलाई अध्यक्षको साझा उम्मेदवार बनाएका हुन् ।

अनेरास्ववियूले अध्यक्ष र प्रत्यक्षतर्फ एक सदस्य लिएको छ । भने माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सचिव र कोषाध्यक्ष पाएको छ । त्यसैगरी, राप्रविसंघ र एकीकृत समाजवादीले प्रत्यक्षतर्फ दुई–दुई सदस्य पाएका छन् । नेपाल समाजवादी विद्यार्थी यूनियन, विप्लबको अखिल क्रान्तिकारी र अखिल छैठौँले एक–एक सदस्य पाएका छन् ।

नेपाल विद्यार्थी संघका जीवनराज सुवेदी, नेपाल क्रान्तिकारी विद्यार्थी संघका भावना थापा, अखिल क्रान्तिकारीका सुजल परियार र मुकेश सिंह कुँवरले स्वतन्त्र उम्मेदवारी दिएका छन् । निर्वाचनको विषयमा असन्तुष्टि जनाउँदै ९ विद्यार्थी संगठनले महेन्द्र बहुमुखी क्याम्पसमा तालाबन्दी गरेपछि ५ चैतमा हुने निर्वाचन ८ चैतमा हुनेछ ।