नेपाल-भारत साहित्य सङ्गोष्ठी नेपालगन्जमा सुरु

नेपालगन्ज : नेपाल–भारत साहित्य सङ्गोष्ठी–२०७९ नेपालगन्जमा सुरु भएको छ ।
महेन्द्र पुस्तकालयले आयोजना गरेको तीन दिने सङ्गोष्ठीकोे शनिबार भाषा आयोगका सदस्य डा.अमर गिरीले उद्घाटन गरे । डा. गिरीले नेपाल–भारतबीच सदियौंदेखि साहित्यिक सम्बन्ध रहेको बताउँदै दुई देशबीच केही समस्या भए पनि नागरिक स्तरमा भने सदियौंदेखिको सम्बन्ध सुमधुर र सदृढ रहेको बताए । कार्यक्रममा भाषा आयोगका अर्का सदस्य गोपाल अश्कले नेपाल र भारतका साझा बोली, भाषा र भाषिका भएकाले सांस्कृतिक रुपमा सम्बन्ध सुमधुर रहेको बताए । सो अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य हंसावती कुर्मीले दुबै देशका साहित्यिक रचनाको अनुवाद गरेर भाषा र साहित्यको विकासमा योगदान गर्न सकिने सुझाव दिएकी थिइन् । भारतीय साहित्यकार रजनीकान्त वशिष्ठले नेपाल र भारतमा बोलिने भाषा एउटै भएको र दुबै देशका नागरिक एक अर्का देशमा काम गर्न जाने भएकाले पनि मिलेर भाषा र साहित्यको विकासमा योगदान दिनुपर्नेमा जोड दिएका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मीले दुबै देशको भाषा र साहित्यको विकासमा योगदान दिन पनि सङ्गोष्ठी आयोजना गरेको बताएका थिए । उनले साहित्य मार्फत बाँके र बर्दियाको पर्यटनको प्रचार प्रसार गर्न पनि सङ्गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । नेपालगन्ज उपमहानगरपालिका उप–प्रमुख कमरुद्दिन राईले नेपाल र भारतका भाषा समान भएकाले भाषा र साहित्यको मिलेर विकास गर्न सकिने बताए ।
पुस्तकालयका अध्यक्ष बलराम यादवको अध्यक्षतामा सम्पन्न पहिलो दिनको उद्घाटन कार्यक्रमको मन्तव्य पनि बहुभाषी बनेको थियो । नेपाली, अवधि, मैथिलि, भोजपुरी र हिन्दी भाषामा वक्ताहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा साहित्यकार बालकृष्ण शर्माले स्वस्ती बाचन गरेका थिए ।  सङ्गोष्ठीको दोस्रो दिन कार्यपत्र प्रस्तुती र बहुभाषी साहित्यिक रचना पाठ अनि तेस्रो दिन भारतीय पर्यटकलाई बाँके र बर्दियाका पर्यटकीय क्षेत्रको अवलोकन गराउने कार्यक्रम रहेको छ ।