६४ वर्षअघिको ‘चेतनाको झिल्को’ भन्दै पूर्वराजा ज्ञानेन्द्रले पञ्चायत व्युताउने कुरा गरेपछि…

नागरिक अभिनन्दनमा सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाह । फोटो : ऋषि राज देवकोटाको फेसबुकबाट

नेपालगन्ज : पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालमा विकासका लागि पुनः पञ्चायती व्यवस्था व्युताउन आवश्यक भएको बताएका छन् ।
नेपालगन्जको रामलीला मैदानमा बुधबार नागरिक अभिनन्दन ग्रहण गर्दै पूर्वराजा ज्ञानेन्द्रले दलहरुले विकास नगरेकाले पञ्चायतको खाँचो भएको जिकिर गरे । उनले भने, ‘६४ वर्ष अघिको चेतनाको झिल्को अहिलेको खाँचो झल्किरहेको छ ।’ ६४ वर्ष अघि २०१७ सालमा उनका बुबा महेन्द्रले शिशु प्रजातन्त्रको घाँटी निमोठ्दै देशमा निर्दलीय पञ्चायती व्यवस्था लागू गरेका थिए । त्यो व्यवस्था ३० वर्षमा ढालेर २०४६ सालमा बहुदलीय व्यवस्था आएको थियो । ०६२÷६३ को जनआन्दोलनपछि २४० वर्षे शाहवंशलाई विदाइ गरेर देशमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्र छ ।
झन्डै १४ मिनेट लामो सम्बोधनको क्रममा उनले लामो समयको अन्तरालपछि फेरि देशको दशाको बारेमा उभिएर आफूले पनि त्यस्तै कुरा गर्न विवश भएको भन्दै पञ्चायती व्यवस्थामा नै देशमा ठूल्ठूला विकास संरचना र विकास खाका कोरिएको जिकिर पनि गरे ।
विस २०१० देखि ४० को दशकसम्म पूर्वाधार विकास, उद्योग स्थापना, औद्योगिक क्षेत्रको निर्माण संरचनाका विधिका कामहरु भएको बताउँदै उनले पञ्चायतकालमा महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, पृथ्वी राजमार्ग, तराई पहाडका शिक्षा र स्वास्थ्य, मुलुकी ऐन, भूमिसुधार, नेपाल राष्ट्र बैंक, राष्ट्रिय योजना आयोग, त्रिभुवन र महेन्द्र संस्कृत विश्वविद्यालय, नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापना, पशुपति क्षेत्र विकास कोष, लुम्बिनी विकास कोष, महेन्द्र प्रकृति संरक्षण कोषलगायत त्यो अवधिका उपलब्धी भएको जिकिर गरे ।
नीतिमध्ये सर्वश्रेष्ठ नीति राजनीति भएको बताउँदै उनले अहिलेको राजनीति राष्ट्रमुखी, जनमुुखी र जनहीतकारी हुन नसकेको भन्दै दुःख ब्यक्त गरे । देशको नीति र पद्दति देश र जनताका लागि हुनु पर्ने भए पनि नेताद्वारा नेताका लागि र दलद्वारा दलका निम्ति भइरहेको भन्दै बिडम्बना व्यक्त गरे । अहिले देशलाई परनिर्भरतातिर लैजान खोेजेको भन्दै चिन्ता व्यक्त गर्दै उनले पञ्चायतकालीन पूरानो गौरव फर्काउन नागरिकसँग आग्रह गरेका थिए । उनको अभिव्यक्तिपछि समर्थकले राजा र हिन्दु राज्यको पक्षमा नारा लगाएका थिए ।