गणतन्त्रवादीको मतले सांसद जितेका धवलले कसरी राजतन्त्र र हिन्दु राज्य ब्यूताउलान् ?

नागरिक अभिनन्दन कार्यक्रममा मन्तव्य दिँदै सांसद डा. धवल शम्शेर राणा । फोटो : ऋषिराज देवकोटाको फेसबुकबाट

नेपालगन्ज : बाँके क्षेत्र नं. २ का सांसद तथा राप्रपा महामन्त्री डा.धवल शम्शेर राणाले राजा र हिन्दुराज्य फर्काउने प्रण गरेका छन् ।
नागरिक अभिनन्दन मूल समारोह समितिको आयोजनामा नेपालगन्जमा पूर्वराजा ज्ञानेन्द्रलाई अभिनन्दन गर्दै सांसद राणाले देशको संविधान, कानुन बिर्सिएर समर्थकको भीँडबाट हौसिएर आफू निर्वाचित भएको व्यवस्थाविरुद्ध नै अभिव्यक्ति दिएका हुन् ।
‘विश्वको एक मात्र हिन्दु राष्ट्र र हिन्दु सम्राटलाई पुनः नेपाली जनताले फर्काउने प्रण पनि यो सभाले गरेको छ’, उनले भने, ‘यो देशलाई लोकतान्त्रिक गणतन्त्रिक व्यवस्था सुहाएन । यो संघीयता चाहिएन । हाम्रो माटोमा दुई हजार वर्षसम्म कुनै न कुनै ढंगमा राजतन्त्र थियो । अब पनि नेपाली जनताले ल्याउनेछन् ।’

पूर्वराजाको अभिनन्दन गर्ने भनेदेखि प्रतिनिधिसभा सदस्यमा मतदान गर्ने एमाले लगायतका दलका नेताले धवलको आलोचना गरिरहेका छन् । संघीयता र लोकतान्त्रिक गणतन्त्रको विरोध गर्दै राजसंस्था र हिन्दुराज्यको फर्काउने भनेर दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै विरोधीहरु सोधिरहेका छन्, ‘गणतन्त्रवादीको मतले सांसद जितेका धवलले कसरी राजतन्त्र र हिन्दुराज्य ब्यूताउलान् ?’