पत्रकार खड्कालाई चलचित्र पत्रकार संघको सम्मान

नेपालगन्ज : चलचित्र पत्रकार संघ बाँके शाखाले पत्रकार ज्ञानु संगम खडकालाई सम्मान गरेको छ ।
संघ बाँके शाखाको दोस्रो वार्षिकोत्सवको अवसरमा शनिबार नेपालगन्जमा आयोजित कार्यक्रममा फिल्मीपत्र डटकमका सम्पादक खड्कालाई मोफसलमा पत्रकारिताको माध्यमबाट नेपाली चलचित्र तथा कला क्षेत्रमा योगदान गरेको भन्दै नगद दुई हजार एक सयसहित कदर पत्रले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई र चलचित्र पत्रकार संघ बाँकेका अध्यक्ष रामचन्द्र पौडेलले खड्कालाई सम्मानित गरेका थिए ।

सोही अवसरमा संघले वरिष्ठ निर्देशक कैलाश प्रवीणलाई विशेष सम्मान गरेको थियो । नेपालमा पहिलो पटक नेपाली गीतलाई क्यासेटमार्फल बजारीकरण र नेपालमा पहिलो अवधि भाषमाको चलचित्र निर्देशन गरेको भन्दै निर्देशक प्रवीणलाई विशेष सम्मान गरेको हो । नेपालगन्ज निवासी कैलाश प्रवीण फिल्म तथा टेलिफिल्म, टेलिश्रृंंखलाका निर्देशक, गीतकार, संगीतकार एवम् लेखक हुन । कलाकार एवम् लेखक श्यामानन्द सिंहले अवधि भाषामा लेखेको ‘अभागिन बनि सुहागिन’ कथालाई कैलाशले नेपालमा पहिलो अवधि भाषाको चलचित्र निर्देशन गरेका थिए ।
संघका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव कार्यक्रममा महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, महासंघ बाँके शाखा अध्यक्ष दामोदर भण्डारी, वरिष्ठ कलाकार श्यामानन्द सिंह तथा निर्देशक कैलास प्रवीण, नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली, प्रेस चौतारी बाँकेका अध्यक्ष दुर्गा रोकाया, क्रियाशील महिला पत्रकार संघ बाँकेका अध्यक्ष सावित्री गिरी, बागेश्वरी सिनेमाजका प्रबन्धक सञ्जिव शाक्य लगायतले नेपाली चलचित्र र कला क्षेत्रको विकासका लागि संघले कलम चलाएर योगदान गरेको भन्दै वार्षिकोत्सवको सफलताको कामना गरेका थिए ।