बर्फानी बाबा आश्रममा जनस्तरबाट सरसफाइ महाअभियान सुरु

नेपालगन्ज : बाँकेको बर्फानी बाबा आश्रममा शनिबार जनस्तरबाट सरसफाइ महाअभियान सुरु गरिएको छ । जिल्लाको राप्तीसोनारी गाउँपालिकाको वडा नं. ४ मा जंगलको बीचमा चुरे पहाडको अग्लो टाकुरामा बर्फानी बाबा आश्रम र शिव मन्दिर रहेको छ ।

‘आफ्नो पालिका आफै बनाऔं, प्रमुख पर्यटकीय गन्तव्य बन्दै गरेको बाबा बर्फानीलाई अन्तर्राष्ट्रिय जगतमा चिनाऔं’ भन्ने मूल नाराका साथ शनिबार राप्तीसोनारी गाउँपालिकाको वडा नं. ८ बैजापुरबाट जनप्रतिनिधि सम्मिलित स्थानीयको टोलीले सरसफाइ गरेको हो । महाअभियान अन्तर्गत अब हरेक शनिबार आश्रममा सरसफाइ हुनेछ ।

राप्तीसोनारी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष ज्ञानेन्द्रराज वली, वडा नं. ४ का वडाध्यक्ष मीनराज खड्का, वडा नं. ६ का वडाध्यक्ष लवराज खरेल, राप्तीसोनारी गाउँपालिकाका निवर्तमान अध्यक्ष लाहुराम थारु, इलाका प्रहरी कार्यालय धामपुर, इलाका प्रहरी कार्यालय नरैनापुरका प्रहरी, ट्राफिक प्रहरी, पत्रकार, राजनीति दलका नेता कार्यकर्ता, शिक्षक, विद्यार्थी, स्थानीय अभियानकर्मीले हातमा नेपालको राष्ट्रिय झण्डासँगै, कुटो कोदालो, फरुवा, बेल्चा लगायतका सरसफाइमा प्रयोग हुने सामग्री घरबाटै ल्याएको अभियानका संयोजक पत्रकार हेमन्त चौधरीले बताए । सरसफाईपछि शिव मन्दिर अगाडि विशाल राष्ट्रिय झण्डा फहराइएको छ ।