नेपालगन्जमा देशमै सबैभन्दा बढी तापक्रम

नेपालगन्ज : बाँकेको नेपालगन्जमा देशमै सबैभन्दा बढी तापक्रम मापन गरिएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार नेपालगन्जमा ४१ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । न्यूनतम् तापक्रम भने २५ डिग्री सेल्सियस रहेको छ । नेपालगन्जमा दिउँसो लु (तातो हावा) चल्न थालेको छ । जसका कारण दिउँसो हिँडडुल गर्न सर्वसाधारणलाई सास्ती हुने गरेको छ । पटक पटक विद्युत जाने गर्नाले सर्वसाधारण झन मारमा परेका छन् ।
नेपालगन्ज पछिको धेरै तापक्रम रुपन्देही जिल्लाको भैरहवामा अधिकतम् तापक्रम ४०.१ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम पनि भैरहवामा नै धेरै २६.६ डिग्री सेल्सियस रहेको छ । जल तथा मौसम विज्ञान विभागको रेकर्डमा नेपालगन्ज देशमै सबैभन्दा बढी गर्मी हुने सहरमा पर्छ ।