राजापुरको आधारभूत पत्रकारिता तालिम सम्पन्न

जोतपुर (बर्दिया) : बर्दियाको राजापुर नगरपालिकामा सञ्चालित सात दिने आधारभूत पत्रकारिता तालिम सोमबार सम्पन्न भएको छ ।
युनिक नेपाल जोतपुर बर्दियाको आयोजनामा तथा राजापुर नगरपालिका वडा नं ५ को समन्वयमा सञ्चालित तालिमका सहभागीलाई राजापुर ५ का वडाध्यक्ष रमेश दहितले प्रमाण पत्र वितरण गरेका थिए । वडाध्यक्ष दहितले प्रशिक्षार्थीहरुलाई प्रात्साहन गर्दै भने, ‘तपाईहरुलाई अब कसैले रोक्न सक्दैन । तपाईहरु आफै रोकेपछि मात्र रोकिने हो ।’
उनले पत्रकारिता तालिमपछि युवायुवतीहरुकोे जीवनमा परिवर्तन ल्याउने अपेक्षा गर्दै समाज सुधारका लागि पहिचान बनाउन पनि आग्रह गरे । उनले प्रशिक्षार्थीहरुलाई पत्रकारितामा सक्रिय भएर लाग्न आग्रह

कार्यक्रममा युनिक नेपालका कार्यकारी अध्यक्ष प्रिमबहादुर थारुले राजापुर क्षेत्रमा पत्रकारको संख्या बढाउन तालिम आयोजना गरेको बताउँदै प्रशिक्षार्थीहरुलाई सक्रिय रुपमा पत्रकारितामा लाग्न आग्रह गरे । उनले आगामी दिनमा समेत पत्रकारको क्षमता अभिवृद्धिका लागि थप तालिम दिने प्रतिबद्धता जनाए ।
कार्यक्रमा राजापुर नगरपालिका कार्यपालिका सदस्य सबिता परियार, वडा सदस्य थानदार थारु, अस्नी चौधरी र जय किसान माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष हेलुराम थारुले प्रशिक्षार्थीलाई पत्रकारिता पेशामा सफलताको कामना गरेका थिए । प्रशिक्षार्थी सञ्जय थारु र सीताकुमारी चौधरीले सात दिनको अनुभव सुनाएका थिए ।

मेरो खुसी डटकमका सम्पादक तथा अन्नपूर्ण पोस्ट्का उप सम्पादक शंकरप्रसाद खनाल र बीबीसी नेपाली सेवाका विमला चौधरीले तालिममा सहजीकरण गरेका थिए । विद्यार्थीलाई सैद्धान्तिक, प्रयोगात्मक अभ्यास, हाजिरी जवाफ र पाठ्यक्रमका विषयहरु प्रतियोगिता गरेर सिकाइएको थियो । तालिममा राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका गरी ४२ जना युवायुवतीको सहभागिता रहेको युनिक नेपालका अधिकृत सोम डेमनडौराले बताए ।