नेपालगन्जमा देशमै सबैभन्दा बढी तापक्रम मापन
नेपालगन्ज : बाँकेको नेपालगन्जमा यो वर्षकै सर्वाधिक धेरै तापक्रम मापन भएको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार नेपालगन्जमा देशमै सबैभन्दा धेरै तापक्रम ४२ डिग्री सेल्सियस मापन भएको हो । न्यूनतम् तापक्रम पनि ३० डिग्री रहेको छ । यसअघि जेठ महिनामा ४२.८ डिग्री सेल्सियससम्म मात्र तापक्रम मापन भएको थियो ।
धनगढीमा ४१.४, भैरहवामा ४०.२, दीपायलमा ४०.३, डिग्री सेल्सियस तापक्रम मापन भएको छ । देशमै सबैभन्दा धेरै तापक्रम हुने सूचीमा नेपालगन्ज एक नम्बरमा पर्छ । गर्मी बढेसँगै दिउँसो तातो हावा (लु) चल्ने गर्दा जनजीवन प्रभावित हुने गरेको छ । गर्मी बढेकाले नेपालगन्ज सिद्धार्थ होटल लगायतका स्वीमिङ पुलमा विद्यार्थीहरुको घुँइचो लाग्ने गरेको छ ।