चूरे जनजागृति युवा क्लबद्वारा युवायुवतीका लागि लागूऔषध सम्बन्धी तालिम आयोजना

शाहीपुर (बर्दिया) : बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको चूरे जन जागृति युवा क्लब वनवीरपुरले युवायुवतीलाई लागूऔषध सम्बन्धी तीन दिने तालिम आयोजना गरेको छ ।
राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरको आर्थिक सहयोग र ट्राफिक प्रहरी कार्यालय भुरिगाँउको सहकार्यमा आयोजना गरिएको तालिमको राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरका रामकुमारी खत्रीले ठाकुरबाबा-५ शाहीपुरमा उद्घाटन गरिन् ।

खत्रीले स्वच्छ समाज निर्माणमा युवा भूमिकाको बारेमा साथै राष्ट्रिय युवा परिषद्ले गर्ने काम कर्तव्यको‌ बारेमा प्रकाश पारेकी थिइन् ।

तालिममा इलाका प्रहरी कार्यालय भुरिगाँउका सइ नयाँराम कार्कीले लागूऔषध सम्बन्धित कानुनी जटिलता र युवाहरुमा बसेको लतका बारेमा सहजीकरण गरेका थिए ।

तीन दिने तालिमको उद्घाटन शत्र क्लबका पूूर्वअध्यक्ष सुरज थारुको अध्यक्षतामा सम्पन्न भएको थियो ।

क्लबका अध्यक्ष विवेक प्रभात खनाल जिल्लामा विभिन्न स्थानीय तहमा रहेका युवा क्लबहरु फुटबल र खेलकुदको क्षेत्रमा मात्रै काम गर्दछन् भन्ने भाष्य जनमानस र सरकारी कार्यालयमा रहेकाले समाज परिवर्तनका लागि युवा परिचालन गर्न यस्ता कार्यक्रमहरु आगामी दिनमा क्लबको प्राथमिकतामा पर्ने बताउँछन् ।

तीन दिने तालिममा सहभागी युवायुवतीले लागूऔषध सम्बन्धी गाउँगाउँमा गएर स्थानीय बासिन्दाहरुलाई सचेतना जगाउने काम गर्ने अध्यक्ष खनालले बताए । तालिममा ठाकुरबाबा नगरपालिकाको वडा नं. ५ का ७० जना युवायुवती सहभागी भएका छन् ।