राजापुरका आचार्य बाख्रापालनबाट करोडपति

भागीरथी थारुराजापुर
कामप्रति लगन र मनमा आँट हुने हो भने सानो लगानीबाट सुरु गरेको व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण हुन्, विष्णु आचार्य । पुख्यौली घर प्युठानको स्वर्गद्वारी नगरपालिका-५ सारी भएका उनको केही वर्षदेखि बर्दियाको राजापुर नगरपालिका-५ बदालपुुरमा स्वर्गद्वारी बाख्रा फार्म छ । आचार्य कृषि विषयमा स्नातकोत्तर गर्दैछन् ।
२०७२ मा बैंकबाट ऋण लिई एउटा बोयर बोका खरिद गरी सुरु भएको स्वर्गद्वारी बाख्रा फार्ममा अहिले एक करोड रुपैयाँ भन्दा बढीका बोयर बोका र बाख्रा छन् । साढे तीन लाख मूल्य पर्ने त बोयर बोका मात्रै छन् ।
फार्ममा सत्प्रतिशत शुद्ध बोयर बाख्रा मात्रै भएको उनको दाबी छ । एकदशक अगाडि खाडीबाट रित्तो हात गाउँ फर्किएका गाउँका दाजुभाइलाई राखेर बाख्रा पालेर नै करोडपति बनेको छिमेकीले बताएका छन् । उनले छिमेकी घरको आँगनमा खेल्दै गरेका स्थानीय जातका बाख्राबाट व्यावसायिक बाख्रापालनको सोच बनाएको बताए ।
आचार्यले सामान्य खोर बनाएर बाख्रापालनमा सुरू गरेका थिए । सोच अनुसार लगानी जुट्न नसकेपछि स्थानीय जातका बाख्रामा क्रस गदै व्यसायलाई अगाडि बढाए । यसरी हिम्मत नहारेर बाख्रापालन सुरु गरेका आचार्यले एक दशकको अवधिमा २०७२ देखि २०८० सम्म बाख्रा बिक्री गरेर ऋण तिर्नुका साथै राम्रै कमाइ भएको जानकारी दिए । ‘गत वर्ष ३५ लाख रुपैयाँको बोयर बिक्री गरे । यो वर्ष करिब ५० लाख रुपैयाँको बिक्री गर्ने लक्ष्य छ’, उनले भने, ‘बोयरको विशषेता नै छिटोछिटो बढ्नु र हुर्कनु हो । खसीको मासु महँगो भए पनि हुर्काउन र कमाउन सजिलो छ ।’
एक वर्षमा १०० भन्दा बढी बोएर पु¥याउने र आधा दशकभित्र वार्षिक करोडको आम्दानीको नजिक पुग्ने गरी कडा मेहनत गरिरहेको बताउने स्वर्गद्वारी फार्ममा अहिले ५५ वटा बोयर बाख्रा छन् । नेपालका विभिन्न स्थानबाट संघसंस्थाका प्रतिनिधि र किसान उनको फर्म अवलोकनका लागि आउने गरेका छन् । बर्दियामा अहिले उनको बाख्रा फार्म बोयर बाख्राको स्रोत केन्द्र बनेको छ ।