गेरुवाका विद्यालयमा सिकाइ सुधार्न उपचारात्मक कक्षा सञ्चालन

गेरुवा : बर्दियाको गेरुवा गाउँपालिकाका सामुदायिक विद्यालयमा सिकाइमा सुधारका लागि उपचारात्मक कक्षा सञ्चालन गरिएको छ ।
प्लान इन्टरनेशन नेपाल तथा र भेरी वातावरणीय विशिष्टता समूह (बी ग्रुप) बाँकेको साझेदारीमा सञ्चालित बालविवाह न्यूनिकरण परियोजनाले गेरुवा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा ९ वटा सामुदायिक विद्यालयमा उपचारात्मक कक्षा सञ्चालन गर्ने शिक्षकहरुका लागि उपचारात्मक कक्षा आवश्यकता, महत्व, सञ्चालनको विधि र कार्ययोजनासहित अभिमुखिकरण कार्यक्रम गरेको हो ।

अभिमुखिकरण कार्यक्रममा गेरुवा गाउँपालिका अध्यक्ष जमानसिंह केसी, उपाध्यक्ष लक्ष्मी चौधरी, प्रमुख प्रशासकीय अधिकृत बसबहादुर राना लगायतको सहभागीता रहेको थियो । तालिममा गेरुवा गाउपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख नवराज अधिकारीले सहजिकरण गरेका थिए । कार्यक्रममा विद्यालयका गणित, अंग्रेजी, विज्ञान र सामाजिक विषयगत शिक्षकको सहभागिता रहेको थियो ।

सामुदायिक विद्यालयका एउटै कक्षाका विद्यार्थीबीच पनि सिकाइको स्तरमा निकै असमानता रहेको, माध्यामिक तहका कक्षामा सिक्नुपर्ने विषयवस्तु उपल्लो कक्षामा पुग्दासम्म पनि सिक्न नसकिरहेकोले एउटै सिकाइको स्तर भएका विद्यार्थीको समूह निर्माण गरी उपचारात्मक कक्षा सञ्चालन गर्र्न आवश्यकता रहेको बालविवाह न्यूनिकरण परियोजना शिक्षातर्फका प्राविधिक संयोजक लक्ष्मीप्रसाद शर्मा बताउँछन् ।
उपचारात्मक कक्षाको गुणस्तर नियमित सञ्चालनका लागि विद्यालय प्रसाशनबाट छड्के जाँच, तथा कक्षाकोठा अनुगमन, शिक्षक स्वःमूल्याकन फारम, आदिका यस कक्षाको प्रभावकारी बनाउन सकिने प्राविधिक संयोजक शर्माको विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकलाई सुझाव छ ।